१ कार्तिक २०८३, शनिबार

फिल्म ‘पार्वती’को पहिलो दिनको कमाई ११ लाख प्रधानमन्त्री राहत कोषमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गत बुधबार रसुवाको भोटेकोशीमा आएको अकल्पनीय बाढीले ठूलो जनधनको क्षति गर्‍यो । रसुवा, नुवाकोट, धादिङ लगायत आसपासका जिल्लामा बाढीको क्षतिको विवरण अझै आउन बाँकी छ । सोही बाढीपीडितका लागि हलमा प्रदर्शनरत फिल्म ‘पार्वती’को टिमले प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा ११ लाख ३ हजार २७० रुपैयाँ रकम प्रदान गर्ने घोषणा गरेका छन् ।

अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई निर्देशक नीता ढुङ्गाना, निर्माता हरिहर अधिकारी, कार्यकारी निर्माता शंकर पाण्डे, वितरक करण श्रेष्ठका साथै वरिष्ठ पत्रकार प्रकाश सुवेदीले उक्त रकम सहयोग गरेका हुन् ।

शुक्रबार देशभरबाट घरेलु बक्स अफिसमा २५ लाख ९३ हजार रुपैयाँ ग्रस कमाइबाट निर्माताले पाउने कुल रकम कोषलाई प्रदान गरिएको हो ।

फिल्मकी निर्देशक ढुङ्गानाले आफूले यो कल्पनीय घटनामा परेका पीडितलाई राहतस्वरुप उक्त रकम सरकारी कोषमा जम्मा गरेको बताइन् ।

उनले भनिन्, ‘निर्माताको भागमा आउने ११ लाख ३ हजार २७० रुपैयाँ प्रधानमन्त्री कोषमा प्रदान गरेका छौँ । यो रकमले बाढीपीडितका लागि थोरै भए पनि राहत मिल्न सक्छ ।’

निर्देशक ढुङ्गानाले आफूले पैसा कमाउन मात्र नभएर कर्मको लागि पनि भोटेकोशी बाढीपीडितलाई रकम प्रदान गरेको बताइसकेकी छन् ।

उनले यो फिल्म चलुन्जेलको ५ प्रतिशत बाढी पीडितलाई दिने निर्णय गरेको बताएकी छन् ।

निर्माता अधिकारले अर्थमन्त्री वाग्लेमार्फत रकम कोषमा प्रदान गरेको बताए । उनले भने, ‘हामीले पहिलो दिनको रकम कोषमा राखेका हौँ । यो बाहेक छुट्टै पनि कोषको क्यूआरमा राखिदिएका छौँ ।’

यस फिल्मका अर्का अभिनेता तथा बालगायक अशोक दर्जीले पनि २५ हजार कोषमा जम्मा गरिदिएका छन् ।

बाढीपीडितको सयौँ घर बगाएको अवस्थामा फिल्म हेर्न दर्शक सोचे अनुसारको पुगेका छैनन् । तर निर्माण पक्षधर समय परिस्थितिको मारमा परेका छन् ।

फिल्मका वितरक करण श्रेष्ठले फिल्मले दोस्रो दिन शनिबार देशव्यापी ४२ लाख रुपैयाँ ग्रस हाराहारीमा कमाएको जानकारी दिएका छन् । हिजो र आजको कमाई भने सार्वजनिक भइसकेको छैन ।

यो फिल्मको सोमबार पनि देशभरका हलमा शो उल्लेखनिय मात्रामा छ । भोलि मंगलबार देशभरका हलमा शो संख्या एक सयभन्दा बढी छ ।

निर्देशक नीताकै मुख्य भूमिका रहेको यो फिल्ममा अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दिप्त प्रकाश अधिकारी, राधिका कँडेल लगायतको मुख्य भूमिका छ ।

निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा, शिवम् अधिकारीको लेखन रहेको यो फिल्मका कार्यकारी निर्माता शंकर पाण्डे हुन् ।

हरिहर अधिकारी निर्माता रहेको यस फिल्मको वितरणको जिम्मा एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएको छ ।