पोखरा । भोटेकोशी बाढीले निम्त्याएको मानवीय विपत्तिको पीडा पोखराको शवगृहसम्म आइपुगेको छ। बाढीमा परी ज्यान गुमाएकाको शव पहिचान गर्न आफन्तहरू पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भेला भइरहेका बेला एउटा शवमा भने तीन परिवारले आफ्नो आफन्त भएको दाबी गरेका छन्।
बाढीले बगाएर ल्याइएका शवमध्ये एउटा शवको तस्बिर हेरेर तीन छुट्टाछुट्टै परिवारले उक्त शव आफ्नै आफन्तको भएको दाबी गरेका हुन्। तर शवको अवस्था र उपलब्ध पहिचानका आधारबाट यकिन हुन नसकेपछि अहिले त्यो शव कसको हो भन्ने प्रश्न अनुत्तरित छ।
कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार एउटै शवमा तीन परिवारले दाबी गरेपछि पहिचानका लागि डीएनए परीक्षणको प्रक्रिया अघि बढाइएको छ। डीएनए परीक्षणको रिपोर्ट आएपछि मात्रै शवको वास्तविक पहिचान खुल्नेछ।
भोटेकोशी बाढीले बगाएर ल्याएका १ सय २ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ। तीमध्ये अधिकांश शवको अवस्था निकै क्षतविक्षत रहेको छ। केही शव सग्ला छैनन् भने केही शवका हात वा खुट्टामात्रै भेटिएका छन्। यस्तो अवस्थामा कपडा, गहना, ट्याटु, शरीरमा भएका चिन्हलगायतका आधारमा आफन्तहरूले आफ्ना प्रियजनको शव पहिचान गर्ने प्रयास गरिरहेका छन्।
नुवाकोटका राजकुमार तामाङले आफ्ना पाँच वर्षीय छोरा प्रिन्सको शव विद्यालयको टाइ र घाँटीमा रहेको मालाबाट पहिचान गरेका थिए। त्यसैगरी भक्तपुरका सत्यकृष्ण पराजुलीले आफ्ना दाजु सत्यसुन्दर प्रजापतिको शव घाँटीमा रहेको ट्याटुबाट पहिचान गरेका थिए।
तर सबै शवमा यस्ता स्पष्ट संकेत भेटिन सम्भव छैन। एउटै शवमा तीन परिवारको दाबी परेपछि बाढीले आफन्त गुमाएका परिवारले भोगिरहेको पीडा झन् जटिल बनेको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव पहिचानका लागि एक हजारभन्दा बढी आफन्त पुगेका छन्। प्रहरीले सहायता कक्षमार्फत आफन्तलाई शव पहिचानमा सहजीकरण गरिरहेको छ।
संकलित १ सय २ शवमध्ये हालसम्म ४६ वटाको पोस्टमार्टम गरिएको छ। पोस्टमार्टम गरिएका शवमध्ये १० वटा पहिचान भइसकेर आफन्तले बुझेर लगेका छन्।
प्रहरीले पहिचान हुन नसकेका शवलाई व्यवस्थापन गर्ने तयारी गरिरहेको जनाएको छ। तर डीएनए परीक्षणबाट पहिचान खुलेमा शव सम्बन्धित परिवारलाई बुझाउन सकिने प्रहरीको भनाइ छ।
बाढीले आफन्त मात्र होइन, आफन्तको अन्तिम संस्कार गर्ने अधिकारसमेत परिवारबाट खोसिदिएको छ। एउटै शवमा तीन परिवारको दाबी परेको घटनाले विपत्तिपछिको अर्को गम्भीर चुनौती उजागर गरेको छ—मृत्यु पुष्टि भए पनि आफ्नै प्रियजनको शव कुन हो भन्ने यकिन गर्न नसक्नु।















प्रतिक्रिया