३० आश्विन २०८३, शुक्रबार

कृष्णभीरमा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, यस्तो छ दुई वैकल्पिक रूट

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । धादिङको कृष्णभीरमा ठूलो पहिरो गएपछि पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–काठमाडौं सडकखण्ड अवरुद्ध भएको छ। पहिरोले सडकको ठूलो भाग बगाएकाले तत्काल नियमित यातायात सञ्चालन गर्न कठिन देखिएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पहिरोले सडकमा ठूलो क्षति पुर्‍याएको छ। सडकको अवस्था हेर्दा अवरुद्ध खण्ड पुनः सञ्चालनमा ल्याउन लामो समय लाग्न सक्ने अनुमान गरिएको छ।

राजमार्ग अवरुद्ध भएपछि काठमाडौं आवतजावतका लागि गोरखा हुँदै दुई वैकल्पिक सडक प्रयोग गर्न सकिने भएको छ। पहिलो विकल्पका रूपमा गोरखा सदरमुकाम–बुंकोट–नाम्जुड–घैरुङ–दुर्वङ–सिउरेनीटार–बेनीघाट हुँदै पृथ्वी राजमार्ग जोडिने सडक प्रयोग गर्न सकिन्छ।

त्यस्तै, अर्को वैकल्पिक मार्ग गोरखा सदरमुकाम–नाम्जुङ–बुंकोटघाट–बेनीघाट हुँदै राजमार्गमा जोडिन्छ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि पश्चिम नेपालबाट काठमाडौं आउने तथा काठमाडौं जाने सवारीसाधनका लागि यी सडक वैकल्पिक मार्ग बन्न सक्नेछन्।

गोरखाका प्रमुख जिल्ला अधिकारीका अनुसार मुग्लिन–काठमाडौं सडकसँगको सम्पर्क पुनःस्थापित गर्न गोरखा हुँदै जाने छोटो र सहज वैकल्पिक मार्ग पहिचान तथा सुधारको काम भइरहेको छ।

सडक कार्यालय र स्थानीय प्रशासनबीच समन्वय गरी आवश्यक स्थानमा सडक मर्मत तथा स्तरोन्नति गरेर सवारी आवागमन सहज बनाउने तयारी भइरहेको छ।