२८ आश्विन २०८३, बुधबार

सुरुङभित्र फसेका नागरिकबारे प्रधानमन्त्री बालेनले के भने ?

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवासहित बाढी प्रभावित क्षेत्रमा सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारका लागि नेपाली सुरक्षाकर्मीसँगै चीन, भारत र दक्षिण कोरियाका विशेषज्ञ टोली परिचालन गरिएको बताएका छन्।

प्रधानमन्त्री शाहले आइतबार साँझ सामाजिक सञ्जालमार्फत बाढीपछिको उद्धार अवस्थाबारे जानकारी दिँदै विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार कार्य तीव्र पारिएको बताएका हुन्।

उनका अनुसार माथिल्लो त्रिशूली–१ आयोजनाको क्षेत्रमा दुई दिनमा २५० जनाको उद्धार गरिएको छ। चिनियाँ र कोरियाली विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी सुरुङभित्र खोजी गरिरहेको छ। चिनियाँ टोलीले सुरुङभित्र करिब तीन किलोमिटरसम्म खोजी गरे पनि अहिलेसम्म मानिस फेला नपरेको प्रधानमन्त्रीले बताएका छन्।

नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा पनि नेपाली सेनाका इन्जिनियरले ब्लास्टिङमार्फत सुरुङ खोल्ने प्रयास गरिरहेका छन्। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका विशेषज्ञ तथा तालिमप्राप्त कुकुरसहित करिब ९० जनाको संयुक्त टोली उद्धारमा खटिएको छ।

प्रधानमन्त्रीका अनुसार उद्धार टोलीले सुरुङको मुख्य भागसम्म पुगेर करिब २–३ फिटको प्वाल बनाएको थियो। डोरीको सहायताले उद्धारकर्मी सुरुङभित्र झरेर आवाज दिए पनि कुनै प्रतिक्रिया नआएपछि ठूला उपकरण प्रयोग, ब्लास्टिङ र प्वाल फराकिलो बनाउने कामलाई सँगसँगै अघि बढाइएको छ।

यस्तै, माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा नेपाली सेना र नेपाल विद्युत् प्राधिकरणको टोली उद्धारमा खटिएको छ भने चिनियाँ विशेषज्ञले पनि नेपाली सेनासँग समन्वय गरिरहेका छन्।

रसुवाको चिलिमे जलविद्युत् आयोजनामा भारतीय टोलीले नेपाली सेनासँग समन्वय गरी रेकी गरेको छ। पम्प र एस्काभेटर प्रयोग गरेर उद्धार कार्य अघि बढाइएको प्रधानमन्त्रीले बताएका छन्।

लाङटाङ खोला र मैलुङ खोला जलविद्युत् आयोजनामा पनि खोज तथा उद्धार जारी छ। मैलुङ खोलामा दक्षिण कोरियाली विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी हवाई रेकी गरेको छ।

प्रधानमन्त्री शाहले विभिन्न आयोजनामा नेपाली सुरक्षाकर्मी र विदेशी विशेषज्ञ टोलीबीच समन्वय गरेर उद्धार अभियान अघि बढिरहेको बताएका छन्।