काठमाडौं । विपद्का बेला शव व्यवस्थापनमा अपनाउनुपर्ने सावधानीबारे सामाजिक सञ्जालमा आफ्नो अनुभव सार्वजनिक गरेका कोसी प्रदेशका सहसचिव कोषहरि निरौलालाई सरकारले रसुवाको बाढी प्रभावित टिमुरे क्षेत्रमा खटाएको छ।
कोसी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रदेश सचिव रहेका निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै शव व्यवस्थापन, खोज तथा उद्धारसम्बन्धी कामका लागि रसुवा पठाएको हो।
निरौलाले कोभिड–१९ महामारीका बेला मोरङको प्रमुख जिल्ला अधिकारीका रूपमा काम गर्दाको अनुभवका आधारमा विपद्मा शव व्यवस्थापन गर्दा मृतक तथा परिवारको धर्म, संस्कृति, परम्परा र भावनाको सम्मान गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा लेखेका थिए।
भोटेकोसी बाढीपछि आफन्त गुमाएका परिवारको संवेदनशीलतालाई ध्यान दिँदै शव व्यवस्थापनमा हतार नगर्न र परिवारको भावनामा चोट पुग्ने गतिविधि नगर्न उनले सुझाव दिएका थिए। उक्त स्टाटस सार्वजनिक गरेको भोलिपल्टै उनलाई रसुवा खटाउने निर्णय भएको हो। मन्त्रालयको निर्णयपछि उनले सामाजिक सञ्जालबाट उक्त स्टाटस हटाएका छन्।
मन्त्रालयको निर्णयअनुसार निरौलाको मुख्य कार्यक्षेत्र टिमुरे रहनेछ भने जिल्ला प्रशासन कार्यालय, रसुवा सम्पर्क कार्यालयका रूपमा रहनेछ। अर्को व्यवस्था नभएसम्मका लागि काजमा खटाइएका उनको सेवा–सुविधा भने कोसी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयबाटै उपलब्ध हुने व्यवस्था गरिएको छ।
भोटेकोसी बाढीपछि रसुवामा खोज, उद्धार तथा शव व्यवस्थापनको कामलाई थप व्यवस्थित बनाउन अनुभवी कर्मचारी परिचालन गरिएको मन्त्रालयले जनाएको छ।















प्रतिक्रिया