१ कार्तिक २०८३, शनिबार

भोटेकोशी बाढीमा मधेशका सम्पर्कविहीन १७४ मध्ये २३ जना सम्पर्कमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मधेश प्रदेशका विभिन्न जिल्लाका ठूलो संख्यामा नागरिक सम्पर्कविहीन भएका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालयले शनिबार बिहान उपलब्ध गराएको विवरणमा सम्पर्कविहीनहरूको संख्या प्रदेशका आठवटै जिल्लामा गरी १७४ पुगेको हो । सम्पर्कविहीनमध्ये २३ जनाको अहिलेसम्म उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरीको विवरण अनुसार सबैभन्दा बढी सप्तरीका ४८ जना सम्पर्कविहीन छन् । त्यसपछि पर्साका ३९, बाराका २३, रौतहटका १७, सर्लाहीका १०, महोत्तरीका १७, सिरहाका १० र धनुषाका ५ जना छन् ।

प्रदेश प्रहरीको सूचीमा पर्साका बेपत्तामध्ये सप्तरीबाट महादेवा, कञ्चनरूप, डाक्नेश्वरी, तिलाठी कोइलाडी, राजविराज, खडक, विष्णुपुर, शम्भुनाथ, तिलाठी कोइलाडी, बोदेबरसाइन, राजगढ लगायत स्थानीय तहका नागरिक रहेका छन् ।

पर्साका वीरगञ्ज महानगरपालिका, पोखरिया, बहुदरमाई, सखुवा प्रसौनी र पटेर्वा सुगौली लगायत विभिन्न स्थानीय तह तथा भारत बिहारका नागरिक रहेको उल्लेख छ ।

बाराका बेपत्ता व्यक्तिहरूमा कलैया उपमहानगरपालिका, परवानीपुर, निजगढ, जितपुरसिमरा, सुवर्ण लगायत क्षेत्रका नागरिक छन् । रौतहटका बेपत्ता सूचीमा चन्द्रपुर, गौर, राजदेवी, ईशनाथ लगायत स्थानीय तहका नागरिक छन् ।

त्यस्तै, सर्लाहीका बेपत्ता व्यक्तिहरूमा लालबन्दी, ईश्वरपुर तथा हरिपुर क्षेत्रका नागरिक छन् ।

महोत्तरीका नागरिकहरू मटिहानी, लोहार पट्टि, बर्दिबास, भंगहा, गौशाला, जलेश्वरलगायत क्षेत्रका रहेका छन् । धनुषाका बेपत्तामध्ये हंसपुर, सबैला र कमला नगरपालिका क्षेत्रका नागरिक छन् ।

सिरहाबाट मिर्चैया, गोलबजार, धनगढीमाईलगायत क्षेत्रका नागरिक बेपत्ता सूचीमा छन् ।

सम्पर्कविहीनमध्ये सर्लाहीका ज्ञानबहादुर थिङ, पर्साका श्यामलाल मोक्तान, पर्सा पोखरियाका ओजिर अन्सारी, बारा कलैयाका सत्यप्रकाश राम, जितपुरका रोवित कुमार साह, सुवर्ण गाउँपालिकाका रूपेश गुप्ता, रौतहट ईशनाथका शेख मजिद, रौतहट गढीमाईका सकिना खातुन, मोबिदा खातुन, सलमान अन्सारी रौतहट चन्द्रपुरका पवित्रा नेपाल सिलवाल र सम्राट सिलवाल लगायका सम्पर्कमा आएका छन् ।

यस्तै, सर्लाही लालबन्दीका ब्रिजकिशोर दास, सुनिता दास, बागमतिका दिनेश थापा, महोतरीका राकेशकुमार यादव, पिपराका विपिनकुमार मण्डल, सिरहा गोलबजारका टार्जन बलम्पाकी, सप्तरी कन्चनरूपका अजय मरिक पनि सम्पर्कमा आएको प्रदेश प्रहरीको भनाई छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार फोन तथा विभिन्न सञ्चारमाध्यमबाट शनिबार बिहानसम्म प्रदेशका आठै जिल्लाबाट गरी सम्पर्कविहीनहरूको नाम संकलन गरिएको हो । नामावली संकलनको क्रम जारी रहेकाले यो संख्या अझै बढ्नसक्ने बताइएको छ ।