काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले पछिल्लो समय आएको बाढीपहिरोका कारण भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलनसँगै प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत, अस्थायी आवास तथा खानेपानी व्यवस्थापनलाई तीव्र बनाएको छ ।
रेडक्रसका अनुसार विशेषगरी नुवाकोट, धादिङ, रसुवा लगायतका जिल्लामा बाढी तथा पहिरोले घर, खेतीपाती, पशुचौपाया, पसल तथा जीविकोपार्जनका आधारहरू बगाउँदा ठूलो संख्यामा मानिस विस्थापित भएका छन् ।
कतिपय परिवारका सदस्य वेपत्ता भएकाले प्रभावितहरू आफ्ना आफन्तको खोजीमा भौँतारिनुपर्ने अवस्था रहेको रेडक्रसले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषिरमण खनालले अहिले विपद्को विस्तृत विवरण संकलन भइरहेकाले तत्कालका लागि र्यापिड असेसमेन्टमा जोड दिइएको बताए ।
उनले भने, ‘धेरै विवरण अझै आउन बाँकी छ । अहिले गर्ने भनेको एकदमै र्यापिड असेसमेन्ट हो । मान्छेहरू धेरै बगाएर लगेको अवस्था छ, शव भारतको सीमासम्म पुगेको छ । आईसीआरसीसँग मिलेर नेपाल सरकार, नेपाली सेना र नेपाल प्रहरीसँग समन्वय गरी शव व्यवस्थापनको काम गरिरहेका छौँ र धेरै समय त्यसमा बितेको छ ।’
खनालका अनुसार नदी किनारका बस्तीमा रहेका विस्थापितलाई तत्काल खाना र बसोबासको व्यवस्था गर्न रेडक्रसले ‘रेडी टु इट’ खाद्य सामग्री तथा बिहान–बेलुका खाना खुवाउने काम गरिरहेको छ । गैरखाद्य सामग्रीसमेत प्रभावित क्षेत्रमा पठाइएको उनले बताए ।
उनले भने, ‘नुवाकोट, धादिङका नदी किनारका मानिसहरूको बसोबास र खानाको व्यवस्थापनका लागि हामीले रेडी टु इट फुड तथा बिहान–बेलुका खाना खुवाउने काम गरिरहेका छौँ । त्यसैगरी गैरखाद्य सामग्रीहरू पनि बाँडिरहेका छौँ । अहिले सबै पिक्चर क्लियर हुने बेला भएको छैन । तर सबैभन्दा ठूलो दुःख भनेको मानिसका आफ्ना परिवारका सदस्य बगाएका छन् । उनीहरूको शव खोज्न मानिसहरू यता–उता कुदिराखेका छन् । अहिलेको मुख्य समस्या त्यही हो ।’
उनका अनुसार घरबारविहीन भएका परिवारलाई अस्थायी सेल्टर उपलब्ध गराउने, खाना, खानेपानी, सरसफाइका सामग्री तथा अन्य आवश्यक गैरखाद्य सामग्री उपलब्ध गराउने काम भइरहेको छ । खानेपानीका मुहान तथा सरसफाइका संरचना बगाएकाले प्रभावित क्षेत्रमा स्वच्छ पानी र सरसफाइको समस्या पनि गम्भीर बनेको उनले बताए ।
उनले विपद्को प्रभाव अत्यन्त ठूलो रहेको बताउँदै प्रभावित परिवारको दीर्घकालीन पुनःस्थापना चुनौतीपूर्ण हुने बताए ।
‘हिजोसम्म घर, पसल, सबैथोक भएको मानिस अहिले रित्तै भएको छ । खेतीपाती, गाईवस्तु, पसल र जीविकोपार्जन सबै गुमेको छ । उनीहरूको पीडा कसरी कम गर्ने भन्ने अहिले सबैभन्दा ठूलो विषय हो,’ उनले भने ।
रेडक्रसले अस्थायी तथा स्थायी आवासका लागि समेत योजना बनाइरहेको जनाएको छ । अन्तर्राष्ट्रिय रेडक्रससँगको सहकार्यमा प्राप्त सहयोगलाई प्रभावितको आवश्यकता पहिचान गरी परिचालन गर्ने तयारी भइरहेको खनालले बताए ।
यस्तै, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय संगठन विकास विभागका विभागीय प्रमुख तथा भोटेकोशी बाढी अपरेसन प्रमुख रुद्र अधिकारीले तत्कालीन खोज तथा उद्धार र राहतलाई प्राथमिकतामा राखेर सामग्री परिचालन गरिएको बताए ।
अधिकारीका अनुसार उपलब्ध गराइएको सामग्रीभन्दा प्रभावित क्षेत्रमा आवश्यकता अझै धेरै छ । तत्कालीन र्यापिड असेसमेन्टपछि विस्तृत आवश्यकता पहिचान गरी थप सामग्री पठाइने उनले बताए ।
रसुवामा सडक तथा पैदलमार्ग अवरुद्ध भएकाले राहत सामग्री ढुवानीमा समस्या भएको अधिकारीले बताए । नेपाल सरकार तथा निजी हवाई कम्पनीसँग समन्वय गरी हेलिकोप्टरमार्फत राहत सामग्री पठाउने तयारी भइरहेको उनले जानकारी दिए ।
रेडक्रसले प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालनसमेत बढाएको छ । अधिकारीका अनुसार हालसम्म केन्द्रीय तहबाट २५० जना स्वयंसेवक परिचालन गरिएको छ भने स्थानीय तहका जिल्ला शाखा तथा उपशाखामार्फत दुईदेखि तीन हजारको हाराहारीमा स्वयंसेवक प्रभावित जिल्लामा परिचालित छन् ।
अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला, गर्भवती तथा दुई वर्षमुनिका बालबालिकाका आमाहरूको विशेष आवश्यकतालाई ध्यानमा राखेर डिग्निटी तथा हाइजिन किट वितरण र सुरक्षित आश्रयको व्यवस्थापन भइरहेको उनले बताए ।
रेडक्रसले तत्काल विस्थापित परिवारका लागि गाँस, बास र कपासको व्यवस्था गर्ने तथा त्यसपछि जीविकोपार्जन पुनःस्थापनालाई प्राथमिकता दिने जनाएको छ । प्रभावितको क्षेत्रगत आवश्यकता पहिचान गरी तत्कालीन राहतसँगै पुनःस्थापना र पुनर्निर्माणका कार्यक्रम अघि बढाइने अधिकारीले बताए ।
दीर्घकालीन रूपमा प्रभावितको जीविकोपार्जन पुनःस्थापना, पुनर्वास र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय रेडक्रस, आईसीआरसी, आईएफआरसी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार संस्था र दातृ निकायसँग सहकार्य गरिने रेडक्रसले जनाएको छ । साथै, संघीय, प्रदेश तथा स्थानीय सरकारसँग निरन्तर समन्वय गरी मानवीय सहायता परिचालन गरिने बताइएको छ ।











प्रतिक्रिया