काठमाडौं । लगातारको वर्षासँगै देशका विभिन्न भागमा आएको बाढी र पहिरोका कारण प्रमुख राजमार्ग तथा सहायक सडक मार्गहरू अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीले शनिबार बिहान ०६:३० बजेसम्म अद्यावधिक गरेको विवरण अनुसार मेसिन र सुरक्षाकर्मी परिचालन गरी केही स्थानमा सडक सञ्चालनमा ल्याइए पनि मुख्य राजमार्गहरू अझै पूर्ण तथा आंशिक रूपमा बन्द रहेका छन् ।
काठमाडौं उपत्यका जोड्ने मुख्य नाका नागढुङ्गा–मुग्लिन सडक खण्ड पूर्ण रूपमा सुचारु भइसकेको भए पनि धादिङको बैरेनी बजार क्षेत्रमा १ किलोमिटर सडक एकतर्फी मात्र सञ्चालन भइरहेको छ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित ज्याङखोला, गजुरी गाउँपालिकाका बिहानीपम्प, गलौँदी, जहरे खेत र बाङ्गे मोड तथा गल्छी गाउँपालिकाको बैरेनिमा बाढीका कारण सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ ।
यसैगरी, नुवाकोट जिल्लाका मुख्य राजमार्गहरू बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् भने अर्को सूचना नभएसम्मका लागि सडक बन्द रहने प्रहरीले जनाएको छ । टोखा–छहरे सडक खण्डको शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा सम्भावित जोखिमलाई मध्यनजर गर्दै राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रूपमा ठप्प भएको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढी आउँदा त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी सडक खण्ड लामो समयका लागि अवरुद्ध बनेको छ ।
बागमती प्रदेशका अन्य प्रमुख सडकहरूमा काभ्रेस्थित बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ भने दिउँसोको समयमा परिस्थिति हेरेर मात्र गाडी खुलाउने गरिएको छ ।
मकवानपुरको कान्तिलोकपथमा पनि सम्भावित बाढी र पहिरोको जोखिमका कारण रातिको समयमा सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।
पूर्वी नेपालतर्फ इलामको राजदुवालीस्थित मेची राजमार्ग (झापा–ताप्लेजुङ सडक) अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त क्षेत्रमा हाल वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।
यता लुम्बिनी प्रदेशको रोल्पास्थित परिवर्तन गाउँपालिका–४ खरिबोटमा पहिरो जाँदा शहीद राजमार्ग पूर्ण रूपमा ठप्प छ ।
त्यस्तै, कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा आएको बाढीका कारण जाजरकोट–डोल्पा सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ ।
पहिरो पन्छाउने र सडक सञ्चालन गर्ने कार्य निरन्तर जारी रहे पनि वर्षा नरोकिएकाले यात्रुहरूलाई सडकको ताजा अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।











प्रतिक्रिया