वीरगञ्ज । रसुवा र नुवाकोट लगायतका जिल्लामा बाढीपहिरोबाट प्रभावित भएका नागरिकको सहायताका लागि वीरगञ्ज हेल्थ केयर अस्पतालले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
शुक्रबार साँझ अस्पतालमा आयोजित एक कार्यक्रमका बीच अस्पतालका अध्यक्ष अबुलहैस अन्सारीले पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तमार्फत उक्त रकम कोषमा हस्तान्तरण गरेका हुन् ।
भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो धनजनको क्षति भएपछि पीडितहरूको उद्धार र राहतका लागि सहयोग गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
अध्यक्ष अन्सारीले विपद्को यो समयमा राज्यसँगै निजी क्षेत्र, सामाजिक संघसंस्था र आम नागरिकले पनि आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने बताए ।
“वीरगञ्जबाट सोचेजस्तो राहत रकम जम्मा हुन सकेको छैन । अरूलाई पनि सहयोग गर्न प्रेरणा मिलोस् भनेर औपचारिक रूपमा रकम हस्तान्तरण गरेका हौँ,” उनले भने, “उद्योग–व्यवसायको सहर वीरगञ्जबाट कोषमा अझै धेरै सहयोग रकम जुट्ने आशा छ ।”
अस्पताल प्रमुख अन्सारीले प्राकृतिक विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरे । साथै, आगामी दिनमा पनि विपद्मा परेका नागरिकको उपचार तथा मानवीय सेवाका क्षेत्रमा सहकार्य जारी राख्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा बोल्दै सांसद पन्तले विपद्को घडीमा वीरगञ्ज हेल्थ केयर अस्पतालले गरेको सहयोग सराहनीय रहेको बताए । प्रधानमन्त्री राहत कोषमा वीरगञ्जका अन्य व्यवसायी तथा संघसंस्थाहरूलाई पनि यथाशक्य सहयोग गर्न उनले आग्रह गरे ।











प्रतिक्रिया