२८ आश्विन २०८३, बुधबार

रसुवाको बाढीले विद्युत् संरचनामा क्षति, आपूर्ति अवरुद्ध

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रसुवा जिल्लामा आएको आकस्मिक बाढीले नेपाल विद्युत् प्राधिकरणका उत्पादन, प्रसारण तथा वितरण संरचनामा क्षति पुगेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।

प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’ हब, २२० केभी सबस्टेशन, त्रिशूली तथा देवीघाट जलविद्युत् केन्द्र र विभिन्न वितरण संरचनामा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

बाढीका कारण जनधनसँगै घर, सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा समेत उल्लेख्य क्षति पुगेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले प्रभावित क्षेत्रमा बेपत्ता तथा प्रभावित सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र सर्वसाधारणको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित सबै पक्षलाई तत्काल प्रभावकारी रूपमा परिचालित भई सहयोग गर्न आग्रह गरेको छ ।

नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा रहेका नागरिक तथा प्राधिकरणका कर्मचारीलाई उच्च सतर्कता अपनाउन र थप जोखिम देखिए सुरक्षित स्थानमा स्थानान्तरण हुन समेत अनुरोध गरिएको छ । प्राधिकरणले आधिकारिक सूचना बाहेकका अपुष्ट समाचार र अफवाहमा विश्वास नगर्न पनि आग्रह गरेको छ ।

विद्युत् आपूर्ति नियमित बनाउन हरसम्भव प्रयास भइरहेको जनाउँदै प्राधिकरणले आपूर्ति पूर्ण रूपमा नियमित नहुँदासम्म धैर्य गर्न र सोहीअनुसार सूचना प्रवाह गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ ।