२८ आश्विन २०८३, बुधबार

टिमुरे बजार ध्वस्त, सयौँ उद्वारको पर्खाइमा, कति बेपत्ता भए छैन हिसाब

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले रसुवाको टिमुरे बजार ध्वस्त बनाएको छ ।

गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर २ का सदस्य पेमा दोर्जेका अनुसार टिमुरे बजार पूरै ध्वस्त भएको छ । त्यसमा कति जना बेपत्ता भए भन्ने यकिन हुन सकेको छैन । साथै, सयौँ जना उद्धारको पर्खाइमा बसेको उनले जानकारी दिए ।

उनले भने–

“बिहान साढे ८ बजे ठूलो आवाजका साथ बाढी आयो । हामीले केही सोच्न पनि नपाउँदै तहसनहस भयो । टिमुरे बजारमा केही पनि बाँकी छैन, बाढीले सबै तहसनहस बनाएको छ । कति घर बगे, कति मानिस हराए, केही पनि थाहा छैन ।

टिमुरेमा मात्रै सय घरभन्दा बढी थियो होला । माथिबाट आएको आवाज र बाढी हेर्दा केही पनि जोगिएको छैन जस्तो लाग्छ ।

हामी जोडिएकाहरू माथि डाँडामा आएर बसेका छौँ । जो जस्तो अवस्थामा थियौँ, भागाभाग गरेर यहाँ आइपुगेका छौँ । साना केटाकेटीहरूलाई के खुवाउने, कसरी जोगाउने ? केही छैन । बगेको पानी खाएर बसेका छौँ ।

हामी उद्धारको पर्खाइमा छौँ । माथि हेलिकप्टर घुमेका छन्, तर हामीसम्म आइपुगेका छैनन् । म गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर २ को सदस्य पेमा दोर्जे घले हुँ । मेरो सम्पर्क नम्बर ९८६२२६३५०६ हो । सरकारी निकायहरूले हामीलाई सम्पर्क गरेर उद्धार गरिदिए ठूलो राहत हुने थियो ।”