२८ आश्विन २०८३, बुधबार

गरिमाको हत्या प्रकरणले देश नै शोकमा डुब्दा हर्क साम्पाङको छुट्यो हाँसोको फोहोरा !

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या प्रकरणले अहिले सडकदेखि सदनसम्म आक्रोश व्यक्त भइरहेको छ । यो प्रकरणले अहिले गरिमाको परिवारसहित देश नै शोकमा छ ।

गरिमालाई न्यायको माग गर्दै दोषीलाई कडा भन्दा कडा कारबाहीको माग उठिरहेको छ । यतिबेला संसदमासमेत फाँसीको सजाय हुनुपर्ने माग समेत उठेको छ । यसैबीच गरिमाको मुद्दाकै विषयमा सांसद एवम् श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भने आलोचनामा परेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा उनले ‘मन मिले चमत्कार, नमिले बलात्कार’ भन्ने अभिव्यक्ति दिएपछि सांसद खुस्बु ओलीले नियमापत्ति गरेकी थिइन् । फेरि संसद बैठक सकिएपछि बाहिर सञ्चारकर्मीहरूसँग कुराकानीका क्रममा बालिकाको बलात्कारपछि हत्या जस्तो संवेदनशिल विषयमा साम्पाङको हाँसोको फोहोरा छुट्यो ।

सञ्चारकर्मीले फाँसीकै सजाय हुनुपर्छ भन्ने आवाज उठिरहेको छ नि ? भनेर प्रश्न गर्दा मज्जाले हाँस्छन् । उनी हाँस्दै भन्छन्, ‘फाँसीको सजाय भन्दा पनि काटेर फाल्नुपर्छ भन्छु म,’ यति भनेपछि उनी मज्जाले हाँस्छन्, उनीसँगै सञ्चारकर्मीहरू पनि हाँस्न थाल्छन् । साम्पाङ थप्छन्, ‘फेसबुकमा मैले दिइरहेको छु, आज पनि त्यहाँ (संसद बैठक) भित्र पनि । त्यो चाँही गर्नुपर्छ जस्तो लाग्छ,’ यो भन्दै गर्दा पनि उनको हाँसो रोकिएको हुँदैन ।

बलात्कारपछि हत्या जस्तो जघन्य अपराधमा दोषीलाई कठोर सजाय हुनुपर्ने माग गर्नु स्वाभाविक राजनीतिक अभिव्यक्ति हुन सक्छ। तर साम्पाङको उक्त अभिव्यक्ति सार्वजनिक गर्ने क्रममा देखिएको हाँसो र प्रस्तुतिको शैलीले भने गम्भीर प्रश्न जन्माएको छ।

गरिमा चौधरीको परिवार शोकमा छ। घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कडा कारबाहीको माग भइरहेको छ। यस्तो अवस्थामा सार्वजनिक पदमा रहेका राजनीतिक नेताबाट अपेक्षा गरिने कुरा पीडित परिवारको पीडाप्रति संवेदनशीलता, संयम र जिम्मेवार अभिव्यक्ति हो।

बलात्कारीलाई कठोर सजाय दिनुपर्ने विषयलाई हाँसीमजाकको शैलीमा प्रस्तुत गर्नु अत्यन्तै गैरजिम्मेवारपूर्ण हर्कत हो । अपराधको गम्भीरता देखाउन प्रयोग गरिएका शब्दभन्दा पनि त्यसलाई प्रस्तुत गर्ने शैलीले सार्वजनिक धारणा निर्माणमा ठूलो प्रभाव पार्छ।

साम्पाङले आफ्नो अभिव्यक्तिमार्फत बलात्कारजस्तो अपराधमा कठोर कारबाही हुनुपर्ने सन्देश दिन खोजेको देखिए पनि पीडितको पीडा र परिवारको शोक जोडिएको विषयमा धारणा राख्दा देखिएको हाँसोले भने उनको अभिव्यक्तिको संवेदनशीलतामाथि नै प्रश्न खडा गरेको छ।

पीडितको पीडा र परिवारको संवेदनालाई सम्मान गर्दै जिम्मेवार ढंगले प्रस्तुत हुनु एक जिम्मेवार नेताको दायित्व हो । अझ गरिमा प्रकरणजस्तो घटना संसदमा समेत उठिरहेको र न्यायको माग चर्किरहेका बेला राजनीतिक नेतृत्वले आफ्ना अभिव्यक्तिमा थप जिम्मेवारी र संवेदनशीलता अपनाउनुपर्ने हुन्छ ।