२८ आश्विन २०८३, बुधबार

जेनजी आन्दोलनमा लुटेको सुन फिर्ता गर्न पूर्वगभर्नर अधिकारीको घर पुगेका व्यक्ति पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारीको भैँसेपाटीस्थित घरबाट जेनजी आन्दोलनका क्रममा सुनचाँदीका गरगहना चोरी गरेका एक व्यक्ति ती सामानमध्ये केही फिर्ता गर्न पुनः अधिकारीकै घर पुगेपछि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रौतहटका ३१ वर्षीय विजय राम भनिने विजय महरा चमार छन्। आन्दोलनका क्रममा घरमा तोडफोड र आगजनी भइरहेका बेला भीडसँगै घरभित्र प्रवेश गरी उनले गरगहना चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

महराले घरबाट चोरी गरेका गरगहना नख्खुस्थित आफ्नो डेरामा लुकाएर राखेका थिए। पक्राउ पर्न सक्ने डर भएपछि साउन २० गते एक जोर सुनको झुम्का लिएर अधिकारीको घरमै फिर्ता गर्न पुगेका थिए। अधिकारीले उनलाई झुम्कासहित देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले उनको साथ र डेराबाट सुनका औँठी, झुम्का, मुन्द्रालगायत चाँदीका पाउजु, सिक्का र अन्य सामग्री बरामद गरेको छ। ललितपुर सुनचाँदी व्यवसायी संघले बरामद गरिएका सामानको मूल्य १० लाख २० हजार ९०७ रुपैयाँ कायम गरेको छ।

जेनजी आन्दोलनका क्रममा अधिकारीको घरमा ठूलो क्षति पुगेको थियो। घरमा तोडफोड तथा आगजनी हुनुका साथै सुनचाँदी, नगदलगायत सामान चोरी भएको थियो। अधिकारीले प्रहरीमा दिएको जाहेरीमा घर तथा धनमालको कुल क्षति १ करोड ५० लाख रुपैयाँ रहेको दाबी गरेका छन्।

महराले घरमा आगजनी वा तोडफोड नगरेको, आफू त्यहाँ पुग्दा नै घरमा क्षति भइसकेको र अरूले सामान निकालिरहेको देखेपछि आफूले पनि गरगहना चोरी गरेको बयान दिएका छन्।

सरकारी वकिलको कार्यालयले महराविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २४१ अनुसार चोरीको अभियोग दायर गरेको छ। उनीविरुद्ध तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको माग गरिएको छ। बरामद गरिएका गरगहना अधिकारीले फिर्ता लगिसकेका छन्।