काठमाडौं । बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा अनुसन्धानका क्रममा पक्राउ परेका एक किशोरको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले त्यसबारे छानबिन थालेको छ।
हतकडी लगाइएको अवस्थामा किशोरसँग अस्पतालमा गरिएको सोधपुछको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि अनुसन्धानका क्रममा अपनाउनुपर्ने गोपनीयता र संवेदनशीलतामाथि प्रश्न उठेको हो। भिडियोमा किशोरसँग अपराधसम्बन्धी विषयमा प्रश्नोत्तर भइरहेको देखिन्छ भने उनको सुरक्षाका लागि प्रहरी कर्मचारीसमेत सँगै रहेको देखिन्छ।
प्रारम्भिक जानकारीअनुसार उक्त भिडियो कुनै सञ्चारमाध्यमले खिचेको नभई किशोरलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएका बेला रेकर्ड भएको हो। बाराका प्रहरी स्रोतका अनुसार मेडिकल परीक्षणका क्रममा चिकित्सकले किशोरसँग गरेको कुराकानीको दृश्य रेकर्ड भएर पछि सामाजिक सञ्जालमा फैलिएको हो।
अस्पतालमा किशोरको स्वास्थ्य परीक्षणका लागि दुई जना प्रहरी कर्मचारीसमेत पुगेका थिए। प्रहरीकै निगरानीमा रहेको व्यक्तिको संवेदनशील बयानको भिडियो कसरी बाहिरियो भन्ने विषयमा अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कानुनले अपराध अनुसन्धानका क्रममा पीडित तथा आरोपित दुवैको गोपनीयता संरक्षणमा जोड दिएको छ। विशेषगरी बालबालिका संलग्न भएका संवेदनशील घटनामा अनुसन्धानका क्रममा प्राप्त सूचना, दृश्य तथा अन्य विवरण सार्वजनिक गर्दा थप क्षति पुग्न सक्ने भएकाले त्यसलाई गोप्य राख्नुपर्ने हुन्छ।
यही विषयलाई लिएर भिडियो सार्वजनिक भएपछि मधेस प्रदेश प्रहरी कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय बारासँग घटनाको विवरण माग गरिएको छ। प्रहरी प्रधान कार्यालयले समेत घटनाको छुट्टै अध्ययन थालेको बताइएको छ। भिडियो कसरी खिचियो, कसको पहुँचबाट बाहिरियो र सामाजिक सञ्जालसम्म कसरी पुग्यो भन्ने विषय अनुसन्धानको दायरामा आएको हो ।











प्रतिक्रिया