काठमाडौं, ३२ साउन । आजको संविधानसभा बैठकमा अधिकांश सभासद्ले विखण्डनकारी अभिव्यक्ति दिने मधेसी नेताहरुको कारवाही माग गरेका छन् ।
संसदमा बोल्दै सभासद् बलाराम अधिकारीले जातीय र क्षेत्रीय साम्प्रदायिकता भड्काउने काम कहीँ कतैबाट गर्न नहुने माग गर्दै यस्ता तत्वलाई सरकारले कारबाहीको दायरामा ल्याउनुपर्छ भन्नुभयो ।
संसद बैठकको शून्य समयमा संविधान जारी गर्ने समयमा जातीयता, क्षेत्रीयता र साम्प्रदायिकता उत्पन्न हुनेखालको अभिव्यक्ति नदिन सांसदहरुले विशेष आग्रह गर्नुभएको छ ।
उहाँहरुले विखण्डनकारी अभिव्यक्तिले संविधानसभाबाट संविधान जारी गर्ने जनताको चाहनामाथि कुठारघात हुनेछ भन्नुभयो ।
सांसदहरुले व्यवस्थापिका–संसद् बैठकभित्र फोन निषेध गर्न, बन्द, हडताल सधैँका लागि बन्द गर्न, भूकम्पपीडित जनतालाई थप राहत दिन, प्रदेशप्रति चित्त नबुझी भएका आन्दोलनका मागलाई समयमा सम्बोधन गर्न माग गर्नुभयो ।
यसरी आफ्नो धारणा राख्नुहुनेमा भीष्मराज आङ्दम्बे, भानुभक्त ढकाल, भवानीप्रसाद खापुङ, भरत साउद, भरतबहादुर खड्का, भरतकुमार साह, भक्तबहादुर विश्वकर्मा, बुद्धिसागर चौधरी, बसुन्धरा रोकाय, बलवीर चौधरी, गरिमा साह, मधु शाही ठकुरी, महेन्द्रबहादुर शाही, मीना पुन, मुक्तिप्रसाद पाठक, मोहनसिंह राठौर, यज्ञराज सुनुवार, योगेन्द्र तामाङ घिसिङ, रत्न शेरचन, रत्नदेवी गुरुङ र रञ्जना श्रेष्ठ हुनुहुन्थ्यो । रासस













प्रतिक्रिया