काठमाडौं । बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ ।
गरिमाको बलात्कार तथा हत्याको विरोधमा नागरिक, युवा, विद्यार्थी तथा अधिकारकर्मी लगायत विभिन्न संघसंस्थाहरुले शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले ‘बलात्कारीलाई फाँसी दे’, ‘फाँसी दिन सकिँदैन भने इन्काउन्टर गर’जस्ता कडा कानुनी कारबाहीको माग गर्दै नाराबाजी गरेका छन् । उनीहरुले ‘छोरी जन्मनु अपराध हो?’, ‘जुन देशले आफ्ना बच्चाहरूलाई सुरक्षा दिन सक्दैन, त्यो देश विकासमा होइन लाजमा डुब्नुपर्छ’ लगायत लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए ।

प्रहरीका अनुसार जितपुरसिमरा–१ दसधुरीकी मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा साउन ३१ गते बिहान घरबाट हराएकी थिइन् । उनको शव मंगलबार एउटा घरको खाली कोठामा फेला परेको थियो ।
उक्त घटनाको अनुसन्धानका क्रममा आरोपितहरूलाई तत्कालै पक्राउ गरिएको र पछिल्लो समय अभिभावकले जाहेरी दिएपछि सोही आधारमा थप चार जनालाई नियन्त्रणमा लिइएको गृहमन्त्री सुधन गुरुङले जानकारी दिएका छन् ।











प्रतिक्रिया