काठमाडौं । बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनामा प्रहरीले गहिरो अनुसन्धान गरिरहेको दाबी गरेको छ ।
गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो ।
प्रहरी मुख्यालय नक्सालबाट प्राप्त जानकारी अनुसार ०८३/०४/३१ गते अन्दाजी ०८ः३० बजेको समयमा मेरो छोरी वर्ष ३ की गरीमा चौधरी हराएको हुँदा खोजतलास गरीपाउँ भन्ने समेत व्यहोराको निजको आमा मानमति चौधरी थारुले सोही दिन ११ः१५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय बारामा निवेदन दिएको प्रहरी कार्यालयबाट माताहत लगायत तालुक कार्यालयहरुमा खोजतलासका लागि हुलिया परीपत्र गरिएको हो ।
प्रहरीले अगाडि भनेको छ, ‘जानकारी प्राप्त हुनासाथ प्रहरी कार्यालय बाराबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको मोबाइल टोली निवेदकको घर पुगी निवेदिका आमासँग सोधपुछ गरी हुलास पछाडि, जगदम्बा पछाडि, सिमरा चौक, जितपुर, एयरपोर्ट, रंगशाला वरिपरिको जंगल, औराहा लगायतको शंकास्पद स्थानमा खोजतलास गरेको हो । सोही दिन प्रहरी कार्यालयबाट खटिएको टोलीले पथलैया, दशधुरे, सिमरा चौकलगायतका स्थानमा खोजतलास गरेको साथै क्यूआरटी टोलीले पथलैया, दुधौरा बस्ती, जितपुर, सिमरा चौकलगायतका स्थानमा भौतिक रुपमा खोजतलास गर्नुका साथै वडा कार्यालयमा रहेको सीसी क्यामेरा चेकजाँच गरेको हो,’ प्रहरीले अगाडि भनेको छ,‘मिति २०८३/०५/०१ गते यस कार्यालयबाट खटीएको क्यूआरटी टोलीले औराहा, परवानीपुरलगायत निवेदिका बस्ने स्थानको वरिपरिको जंगल एरियामा खोजतलास गरेको हो ।’
त्यस्तै, मिति २०८३/०५/०१ गते प्रहरी कार्यालयबाट खटिएको टोलीले जितपुर, नितनपुर, छातापिपरा लगायतका स्थानमा खोजतलास गरेको, मिति २०८३/०५/०२ गते मृतकका बुबा, स्थानीय समाजसेवी र यस कार्यालयबाट खटिएको संयुक्त टोलीले शंकास्पद स्थानको सीसीटीभी फुटेज चेकजाँच गर्दै प्राविधिक तवरबाट समेत खोजतलास गरिएको पनि प्रहरीले जनाएको छ ।
अनुसन्धानकै क्रममा मिति २०८३/०५/०२ गते अन्दाजी १७ः४५ बजेको समयमा यस कार्यालयका प्रमुखलाई जिल्ला बारा जितपुरसिमरा वडा नं १ स्थित वीरबहादुर रोकाको खाली घरमा शंकास्पद वस्तु मरेको गन्ध आएको जानकारी प्राप्त हुनसाथ कार्यालय प्रमुख सहितको टोली खटी गएको र तालुक जिप्रका बाराबाट प्रहरी उपरीक्षक समेत टोली घटनास्थलमा खटी गएको प्रहरीबाट प्राप्त जानकारी पत्रमा उल्लेख छ । सोही घट्नास्थलमा नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जबाट तालिम प्राप्त कुकुरसहितको टोली समेत माग गरी खटी आएको पनि प्रहरीले जनाएको छ ।
मिति २०८३/०५/०२ गते २२ः०० बजे शंकित दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएको प्रारम्भिक अनुसन्धानबाट जितपुर वडा नं २ बस्ने ना १ ज ७७५८ नम्बरको म्याजिकको सहचालक १६ वर्षीय सुमन थापाले निज नाबालिकालाई चकलेट दिई ललाईफकाई गरी घटनास्थलमा लगि करणी गरी हत्या गरेको खुल्न आएको र अर्का शंकित म्याजिकका चालक जितपुरसिमरा वडा नं १ बस्ने २४ वर्षीय प्रोगेश चौधरीलाई पक्राउ गरी जवरजस्ती करणी तथा कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गरी मिति २०८३/०५/०३ गते बारा जिल्ला अदालतबाट ४ दिनको म्यादथप भई थप अनुसन्धान कार्य गरिरहेको पनि प्रहरीले जानकारी दिएको छ ।
यता, गृहमन्त्री सुधन गुरुङले पनि जघन्य अपराध रोक्न बलियो कानुनी तथा संस्थागत व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । तीन वर्षीया चौधरीमाथि भएको जघन्य अपराधले आफूलाई अत्यन्त दुःखी बनाएको बताउँदै उनले घटनामा कानूनले दिनसक्ने अधिकतम न्याय सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको सामाजिक सञ्जालमा लेखेका छन् ।











प्रतिक्रिया