२८ आश्विन २०८३, बुधबार

मोतिहारीमा ५ पेस्तोलसहित हतियार तस्कर पक्राउ, बारा–रौतहटसम्म तस्करीको आशंका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोतीहारी । रौतहट र बारासँग सीमा जोडिएको भारतको बिहारस्थित पूर्वी चम्पारण (मोतिहारी) जिल्लामा प्रहरीले ठूलो परिमाणमा अवैध हतियारसहित एक जना हतियार तस्करलाई पक्राउ गरेको छ ।

एसपी स्वर्ण प्रभातको निर्देशनमा अवैध हतियारको तस्करीविरुद्ध सञ्चालन भइरहेको अभियानअन्तर्गत रघुनाथपुर प्रहरीले समस्तीपुरका एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा समस्तीपुर जिल्लाको विभूतिपुर थाना क्षेत्रअन्तर्गत मुस्तफापुर निवासी मोहम्मद अहमद रहेका छन् । उनको साथबाट प्रहरीले ५ थान पेस्तोल, ५ राउन्ड जिउँदो गोली र १० थान म्यागजिन बरामद गरेको जनाएको छ ।

प्रहरीका अनुसार मजुरहां फायरिङ रेन्ज नजिक एक व्यक्तिले अवैध हतियारको ठूलो खेप आपूर्ति गर्न लागेको विशेष सूचना प्राप्त भएको थियो । सूचनाको आधारमा सदर–१ का अनुमण्डल प्रहरी पदाधिकारी दिलीप कुमारको नेतृत्वमा विशेष प्रहरी टोली परिचालन गरिएको थियो ।

टोलीमा तुरकौलियाका पर्यवेक्षकीय प्रहरी निरीक्षक धर्मवीरकुमार भारती, रघुनाथपुर प्रहरी प्रमुख प्रहरी अवर निरीक्षक धनञ्जय कुमारसहित जिल्ला आसूचना इकाइ मोतिहारी र रघुनाथपुर प्रहरीका सुरक्षाकर्मी सहभागी थिए ।

प्रहरी टोलीले सूचनाका आधारमा तोकिएको स्थानमा घेराबन्दी गरी झोला बोकेर उभिएका संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिएको थियो । उनको झोला खानतलासी गर्दा पाँच थान पेस्तोल, पाँच राउन्ड गोली र १० थान म्यागजिन बरामद भएको प्रहरीले जनाएको छ ।

घटनाबारे रघुनाथपुर थानामा काण्ड नम्बर २७५/२६ दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेका अहमदसँगको सोधपुछ तथा बरामद हतियारको आधारमा यसको तस्करी सञ्जालबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

भारतबाट अवैध रूपमा भित्र्याइएका हतियार नेपालका सीमावर्ती बारा र रौतहटसम्म पुर्‍याउने गरिएको आशंका रहेकाले सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी थप कडा बनाउनुपर्ने देखिएको छ । प्रहरीले बरामद हतियारको गन्तव्य र त्यसमा संलग्न अन्य व्यक्तिको खोजीलाई समेत प्राथमिकतामा राखेको जनाएको छ ।