९ कार्तिक २०८३, सोमबार

‘कर्मचारीको कलर, लुम्बिनीमा यसरी लुकाइन्छ डलर…..’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lumbani

– नरेश केसी
लुम्बिनी, ३२ साउन । महामानब गौतमबुद्धको जन्मस्थल लुम्बिनीको संरक्षण, प्रवद्र्धन र योजनाबद्ध विकासको लागि खटाईएका कर्मचारीहरुले नै बदमासी गर्ने गरेको रहस्य बाहिर आएको छ । यसरी बद्मासी गर्ने कर्मचारीहरुलाई नियन्त्रण गर्नको लागि ल्याइएको नयाँ सुरक्षा योजनालाई विफल पार्न त्यहिंकै पदाधिकारी लागि परेका छन् ।

लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङको योजनामा कर्मचारीहरुले लुम्बिनी स्थित मायादेवी मन्दिर भित्र चढाईको रकमहरु लुकाउने गरेको आरोप कोषकै कर्मचारी र पदाधिकारीले लगाउने गरेका छन् । मायादेवी मन्दिरभित्र चढाईएको दान बापतको रकम संकलन गर्न जाने कोषकै कर्मचारीहरुले सो रकम लुकाउने गरेको खुलासा कोषका अध्यक्ष समेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पाले गरेका छन् । अध्यक्ष शेर्पाले लुम्बिनीमा आयोजित पत्रकार सम्मेलनमा भने ‘केही कर्मचारीले विशेष किसिमका कपडा लगाएर मन्दिरभित्र गई रकम लुकाउने गरेको रिर्पोट आएको छ । यसलाई तत्काल अनुसन्धान थाली गलत गर्नेलाई कारबाही हुन्छ ।’

कोेषका केही कर्मचारी र पदाधिकारीको अर्कमण्यताका कारण अहिले शान्तिको उर्वरथलो लुम्बिनीमा भाडभैलो मच्चिएकोछ । जसको कारण लुम्बिनीलाई केन्द्रमा राखी विश्व पर्यटन बजारमा शसक्त उपस्थिती देखाउने योजना सहित अगाडी बढेको नेपाल सरकारको योजना समेत तुहिने अवस्थामा पुगेको छ ।

sadasyasachib Ajitman Tamang
सदस्यसचिव अजितमान तामाङ ।

एकातिर लुम्बिनीको योजनावद्ध विकासको लागि जापानिज वास्तुवीद प्रा.केन्जो टाड्डेले सन् १९७८ मा तयार पारि सञ्चालनमा आएको गुरु योजनामा समेतमा धक्का पुगेको छ भने अर्कोतर्फ कोरियन प्राध्यापक क्वाकको प्रस्तावित लुम्बिनी विश्व शान्ति नग्राम योजना समेत अलपत्र परेको छ । गुरुयोजना अनुसार तीन वर्ग माईल क्षेत्रमा दक्षिणदेखी उत्तरपट्टी क्रमशःपुरातात्विक बगैंचा, विहार क्षेत्र र नयां लुम्बिनी गाउँ निर्माणको विभिन्न काम भइरहेता पनि नियमन र अनुगमनको जिम्मेवारी सम्हालेका पदाधिकारी बीचको खिचातानीको कारण समयमै योजना पुरा हुन सकेको छैन् ।

सन् १९९७ मा विश्वसम्पदा सूचीमा सूचीकृत महामानव बुद्धजन्म स्थल लुम्बिनीमा आजभोली कोषका केही पदाधिकारीहरुको छुद्र कार्यशैलीको कारण पवित्र स्थल पनि अपवित्र बन्ने होकी भन्नेमा शान्तिप्रेमी मानव समुदायले चिन्ता समेत व्यक्त गर्न थालेका छन् । गुरुयोजना मुताविक लुम्बिनीको विकास गर्ने ध्ययेले गुरुयोजनाको कार्यन्वयन र सुपरिवेक्षणको लागि सन १९७१ मा गठन भएको लुम्बिनी विकास समितीको वि.सं २०४२ मा कोषको स्थापना भएको र सोही पदाधिकारी र कार्यकारी सदस्यमा पहिलेदेखी राजनीतिक नियुक्ति हुदैं आएको हो । अहिले पनि त्यसैको निरन्तरता छ तर पछिल्लो समय कोषका केही पदाधिकारीहरुको गलत रवैयांको कारण समस्या निम्तिएको छ ।

पर्यटनमन्त्री अध्यक्ष रहने कोषमा उपाध्यक्ष, कोषाध्यक्ष, सदस्यसचिव पदाधिकारीको रुपमा रहने कोषको लुम्बिनी विकास ऐन २०४२ र विनियमावली २०५८ ले व्यवस्था गरेको छ । मन्त्रिपरिषदको निणर्यबाट गठन हुने विकास कोषको वर्तमान पदाधिकारीमा पर्यटन , संस्कृति तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पा अध्यक्ष उपाध्यक्षमा सिद्धार्थ महर्जन उर्फ भिक्षु निग्रोध, कोषाध्यक्षमा ओम अर्याल, सदस्य सचिवमा अजितमान तामाङ रहेका छन् । यसैगरी योजना प्रमुखमा इमानसिंह मुक्तान रहेका छन् ।