काठमाडौं, ३२ साउन । संविधानका विवादित विषयमा एकीकृत नेकपा माओवादीले शर्त अगाडि सारेको छ ।
उच्चस्तरीय राजनीतिक विशेष समितिको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीले नयाँ संविधानका विवादित विषयमा अब आफ्नो अडान नछाड्ने बताउनुभयो ।
‘८ प्रदेश भनेका थियौं त्यो पनि छाड्यौं, प्रदेश विभाजनको अडान पनि छाड्यौं, अहिले ६ मा आइपुगेको छौं । अब पनि एमाओवादीलाई पछाडी धकेल्ने प्रयत्न भइरहेको छ, अब हामी आफ्नो अडानबाट पछि हट्दैनौं ।’ उहाँले भन्नुभयो ।
उहाँले पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाउने प्रस्ताव एमाओवादीले कुनै हालत पनि स्वीकार नगर्ने बताउनुभयो । ६ प्रदेशको सीमांकनमा असन्तुष्टि देखिएपछि विशेष समितिमा एमाले नेताहरुले ५ विकास क्षेत्रलाई नै प्रदेश बनाउने प्रस्ताव राखेका थिए ।
एमाले उपाध्यक्ष विद्या भण्डारीले त सार्वजनिक रुपमा नै पाँच विकास क्षेत्रलाई नै प्रदेश बनाउन सुझाव दिएकी थिइन् । एमाले नेताहरुको यस्तो भनाई आएपछि एमाओवादी उपाध्यक्ष श्रेष्ठ पहिचान र समथ्र्यका आधारमा गरिएको ६ प्रदेशको सीमालाई नै भत्काउने काम स्वीकार्य नहुने बताउनुभएको हो ।
यस्तै, एमाओवादीले धर्म निरपेक्षता कायमै राख्ने अडान पनि नछाड्ने भएको छ । केही दिनअघि प्रचण्डले धार्मिक स्वतन्त्रता शब्द राख्नुपर्ने बताएपनि आइतबारको बैठकमा धर्म निरपेक्षता नै कायम रहने बताएका थिए । उपाध्यक्ष श्रेष्ठले पनि एमाओवादीले धर्म निरपेक्षताको अडान नछाड्ने भनाई राख्नुभयो ।
















प्रतिक्रिया