२१ कार्तिक २०८३, शनिबार

विखण्डनकारी अभिव्यक्ति दिने उपेन्द्र, अमरेश र राजेन्द्रको भाषण अडियो संसदमा पेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upendra-ameresh-rajendraकाठमाडौं, ३२ साउन । विखण्डनकारी अभिव्यक्ति दिएर विवादमा आएका मधेसी नेताहरु अन्ततः कारवाहीको घेरामा परेका छन् ।

आफ्नो माग पूरा नभए देश टुक्र्याउँछु भन्दै हिँड्ने र अन्य जातजातिका समुदायमा गएर जातिय सद्भाव भड्काउन खोज्ने कांग्रेसका सभासद् अमरेशकुमार सिंह, संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बोलेको अडियो रेकर्ड सोमबार संसद्‍मा प्रस्तुत गरिएको छ ।

सोमबारको संविधानसभा बैठकमा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सरकारका तर्फबाट अमरेशले दिएको अभिव्यक्तिको अडियो रेकर्ड प्रस्तुत गरेका हुन् । कैलाली तथा अन्य ठाउँमा आयोजित सभाहरुमा सभासद् सिंहसहितका मधेसी नेताले विखण्डनकारी अभिव्यक्ति दिएका थिए ।

त्यस्तो समाचार आएपछि गृहमन्त्री गौतमले संसदमा प्रस्तुत गरेको अडियो रेकर्डका बारेमा आवश्यक छानबिन गर्न सभामुख सुवास नेम्वाङले संसदको राज्य व्यवस्था समितिलाई निर्देशन दिएका छन् । विखण्डनकारी अभिव्यक्ति दिएको अडियो रेकर्डबारे अब राज्यव्यवस्था समितिले छानबिन गर्ने भएको छ ।

गृहमन्त्री गौतमले जातीय हिंसा फैलाउने र राष्ट्रिय स्वतन्त्रतामा आँच आउने गरी अमरेशसिंह लगायतले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको बताउँदै यसबारेमा संसद्ले गम्भीर सोच्नुपर्ने बताए ।

गृहमन्त्री गौतमले अमरेशलगायतका केही मधेस केन्द्रित नेताहरुले हतियार उठाउने अभिव्यक्ति दिएर समाजमा त्रास र उत्तेजना फैलाउन खोजेको आरोप पनि लगाएका छन् । उनले जनतामा त्रास सिर्जना गर्ने नेता तथा सभासद्लाई नछाडिने चेतावनी समेत दिए ।

कैलालीको टिकापुरमा आयोजित कार्यक्रममा अमरेशसिंह, उपेन्द्र यादव र राजेन्द्र महतोले जातीय सद्भाव भड्काउने र सामाजिक हिंसा मच्चाउने खालका अभिव्यक्ति दिएपछि त्यसको सर्वत्र विरोध भएको थियो ।