१ कार्तिक २०८३, शनिबार

पत्रकार किशोर श्रेष्ठलाई पुनः पक्राउ गर्ने प्रयासमा प्रहरी, अदालतले दिएन पक्राउ पुर्जी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । सर्वोच्च अदालतको आदेशपछि सोमबार रिहा भएका पत्रकार किशोर श्रेष्ठलाई पुनः पक्राउ गर्ने तयारीमा प्रहरी जुटेको छ। तर, पक्राउ पूर्जीका लागि जिल्ला अदालत ललितपुरमा गरिएको प्रयास भने तत्काल सफल हुन सकेको छैन।

श्रेष्ठविरुद्ध उपसभामुख रुबीकुमारी ठाकुरले ललितपुर प्रहरीमा जाहेरी दिएपछि प्रहरीले उक्त जाहेरीका आधारमा अनुसन्धान अघि बढाउँदै उनलाई पुनः नियन्त्रणमा लिन खोजेको हो।

श्रेष्ठलाई सर्वोच्च अदालतको आदेशअनुसार रिहा गरिएको दिन नै ठाकुरले प्रहरीमा जाहेरी दिएको बताइएको छ। जाहेरी परेपछि प्रहरीले अदालतबाट पक्राउ पूर्जी लिन प्रक्रिया अघि बढाएको थियो।

प्रहरीले सोमबार नै जिल्ला अदालत ललितपुरमा पक्राउ पूर्जीको अनुमति मागेको थियो। त्यस क्रममा न्यायाधीश केदार पौडेलको इजलासमा पुगेको म्याद थपसम्बन्धी फाइल आवश्यक प्रक्रियापछि फिर्ता भएको थियो।

यसअघि नै सर्वोच्च अदालतले समाचार लेखेको विषयलाई आधार बनाएर पत्रकार श्रेष्ठलाई पक्राउ गर्न नमिल्ने स्पष्ट आदेश दिएको थियो। पुनः पक्राउ पूर्जी जारी गर्नुअघि अदालतले प्रहरीसँग थप आधार तथा कागजात मागेको हो।

प्रहरीले मंगलबार पनि पक्राउ पूर्जीका लागि अदालतसँग अनुमति लिन पहल गरेको थियो। तर, अदालतले आवश्यक कागजात पूरा नभएको भन्दै फाइल फिर्ता पठाएको जिल्ला अदालतका प्रवक्ता टीकाध्वज कार्कीले पुष्टि गरे।

उनका अनुसार प्रहरीले थप कागजातसहित पुनः निवेदन दिएपछि मात्र पक्राउ पूर्जी जारी गर्ने वा नगर्ने विषयमा अदालतले निर्णय गर्नेछ।

“थप कागजात ल्याउन भनिएको छ। आवश्यक कागजात प्राप्त भएपछि पक्राउ पूर्जी जारी गर्ने वा नगर्ने विषयमा निर्णय हुन्छ,” प्रवक्ता कार्कीले भने।

यता, जिल्ला प्रहरी कार्यालय ललितपुर स्रोतले भने पक्राउ पूर्जीका लागि आवश्यक कागजात जुटाउने काम भइरहेको जनाएको छ। कागजात तयार भएपछि अदालतमा पुनः अनुमति माग्ने प्रहरीको तयारी रहेको स्रोतको भनाइ छ।

यसअघि श्रेष्ठलाई पक्राउ गरिएको विषयमा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो। उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले उनलाई रिहा गर्न आदेश दिएको थियो। त्यसपछि फेरि नयाँ जाहेरीका आधारमा पक्राउ गर्ने प्रहरीको प्रयासले घटनाक्रम थप पेचिलो बनेको छ।