काठमाडौं, ३२ साउन । सिमाङ्कन र अन्य अधिकारलाई लिए आन्दोलनमा उत्रिएको थारु समुदायले आमहड्तालको कार्यक्रमलाई थप लम्बाएको छ ।
थरुहट राज्यको माग गरेर आन्दोलन गर्दै आएको थारु समुदाय आफ्ना मागप्रति प्रमुख चार दलका शीर्ष नेताहरू गम्भीर नरहेको आरोप लगाएको छ ।
सोही कारण माग पूरा गराउन दवाव दिने उदेश्यले थारु आन्दोलन परिचालन समितिको सचिवालयले आमहड्तालको कार्यक्रमलाई भदौ पाँच गतेसम्म पुराउने निर्णय गरेको स्रोतले जनाएको छ ।
काठमाडौंमा आइतबार राति बसेको सचिवालयको आकस्मिक बैठकले भदौ १ गतेदेखि ४ गतेसम्म तराईका सबै जिल्लाहरूमा आन्दोलन घोषणा गरेको हो ।
सचिवालयका निर्णय सार्वजनिक गर्न आजै पत्रकार सम्मेलनको आयोजना गरिएको छ । आमहड्ताका क्रममा अबदेखि कोणसभा, मसाल जुलुस, पुत्ला जालाउनेलगायतका कार्यक्रम पनि थपिने छन् ।
पहिलो चरणको कार्यक्रमअन्तर्गत आज थारु संयुक्त संघर्ष समितिले कैलाली, उदयपुर, सुनसरी, मोरङ, दाङ, नवलपरासीलगायतका जिल्लाहरू विभिन्न कार्यक्रम गर्दैछन् ।
१९ सदस्सीय केन्द्रीय आन्दोलन परिचालन समितिले तराईका जिल्लाहरूमा चलिरहेको आन्दोलनलाई संयोजन र निर्देशन दिँदै आएको छ ।
सो समितिलाई पनि सुझाव दिन र आकस्मिक निर्णय गर्न थारु कल्याणकारिणी सभाका अध्यक्ष धनीराम चौधरीको संयोजकत्वमा सात सदस्सीय सचिवालय समेत रहेको छ ।
सचिवालयमा सभाका अध्यक्ष धनीराम चौधरीका साथै आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी, फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरी, एमाओवादीका सभासदद्वय अमनलाला मोदी र सन्तकुमार थारु, थरुहट पार्टीका नेता मीनबहादुर चौधरी तथा थारु विद्यार्थी समाजका नेता रमेश चौधरीको सहभागिता रहेको छ ।
यसैबीच, आफ्ना मागलाई नयाँ संविधानमा समेट्न दवाव दिन थारुहरूले मधेश केन्द्रित दलहरूसँग मिलेर आन्दोलन गर्ने भएका छन् ।
आन्दोलनका लागि सहकार्य गर्न छलफल गर्दै आएका थारु र मधेश केन्द्रित दलहरूले संभवत भदौ १ गते भोलिबाट संयुक्त आन्दोलन गर्ने स्रोतको भनाइ छ ।
आन्दोलनका लागि कार्यगत एकता गर्ने अन्तिम निर्णय भइ नसके पनि त्यसको पहल जारी रहेको एक नेताले बताए ।












प्रतिक्रिया