धनगढी, ३२ साउन । अखण्ड सुदूरपश्चिम पक्षधरहरुले केही मधेसी नेताहरुलाई कैलालीमा आमन्त्रण नगर्न आग्रह गरेपछि, संयुक्त थारु संघर्ष समितिले सोमबार धनगढीमा आयोजना गर्ने आमसभामा, फरक अनुहारका नेता बोलाउने भएको छ।
आमसभामा सम्बोधन गर्न संघीय समाजबादी फोरमका वरिष्ठ नेता अशोक राई, एनेकपा माओवादी नेता कृष्ण बहादुर महरा र वर्षमान पुनः मध्ये एक जना, संघीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा र वैद्य माओवादीका सचिव देब गुरुङ लगायतका नेताहरु धनगढी आउने कार्यक्रम तय भएको थारु नेता लक्ष्मण चौधरीले जानकारी दिएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छ ।
यसअघि मधेसी नेताहरु उपेन्द्र यादव, अमरेशकुमार सिह र राजेन्द्र महतोले आउने कार्यक्रम तय भएको थियो । आइतबार अखण्ड सुदूरपश्चिम नागरिक आन्दोलन परिचालन समितिले प्रेस बिज्ञप्ति जारी गर्दै कैलालीमा आएर बिखण्डनकारी अभिव्यक्ति दिएको भन्दै मधेश मुलका नेताहरुलाई आमसभामा नबोलाउन आग्रह गरेपछि एकाएक उपेन्द्र, महतो र सिहको कार्यक्रम रद्ध भई फरक अनुहारका नेता आउने भएका हुन्।
अखण्ड सुदूरपश्चिम पक्षधरहरुले थारुहरुको सोमबारको आमसभामा मधेसी नेताहरुलाई निषेधित गर्न अनिश्चितकालीन सुदूरपश्चिम बन्दको घोषणा पनि गरेका छन ।
समितिका संयोजक गोपाल देउवाले जारी गरेको बिज्ञप्तिमा ‘समाज बिरोधी अभिव्यक्ति दिने यस्ता नेता कार्यकर्ताहरुलाई सुदूरपश्चिममा आमन्त्रित नगर्न सम्बन्धित आयोजक पक्षसंग आग्रह गर्न चाहन्छौ’ उल्लेख गरिएको छ ।
‘हाम्रो आग्रहलाई बेवास्ता गरी कमजोर ठाने त्यसबाट उत्पन्न हुने परिस्थीतीको परिणाम आयोजक पक्ष र तिनै समाज भाड्ने नेताहरु जिम्मेवार हुने कुरा यसै बिज्ञप्ती मार्फत अबगत गराउदछौ’ विज्ञप्तीमा अगाडि भनिएको छ।
केहि दिन अघि टिकापुरमा थरुहट पक्षले आयोजना गरेको आमसभामा मधेसी नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो र अमरेश सिंहले पहाडीया समुदायका बिरुद्ध हतियार उठाउन थारु समुदायलाई तयार रहन र भारतबाट पाकिस्तान हुदै बंगलादेश जस्तै बनाई दिने अभिब्यक्ति दिएको आरोप अखण्ड पक्षको छ ।















प्रतिक्रिया