बैरगनिया । भारतको बिहारस्थित मोतीहारी जिल्लामा मोटरसाइकल चोरीको आशंकामा दुई नेपाली युवक पक्राउ परेका छन् ।
रामगढवा थाना क्षेत्रको नारीरगिर चौकमा सवारीसाधन जाँचका क्रममा प्रहरीले उनीहरूलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियमित सवारी जाँचका क्रममा एचएचडी मेसिन प्रयोग गरी बिहीबार मोटरसाइकलको विवरण परीक्षण गर्दा चेचिस नम्बर र रजिस्ट्रेसन नम्बरबीच भिन्नता भेटिएको थियो । त्यसपछि मोटरसाइकलको थप विवरण जाँच तथा सोधपुछ गर्दा उक्त मोटरसाइकल चोरीको रहेको खुलेको भारतीय प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार पक्राउ पर्नेमा बाराको कलैया नगर क्षेत्रअन्तर्गत बैराठापुरका आदित्य सिंह र पर्साको वीरगञ्ज नगर क्षेत्रअन्तर्गत बहुअरीका शिवानन्द गिरी रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेका दुवै युवक नेपालका फरक–फरक जिल्लाका हुन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ भने चोरीको मोटरसाइकलसम्बन्धी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको भारतीय प्रहरीले जनाएको छ ।















प्रतिक्रिया