काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्न लागिएको भन्ने बिषयमा सत्यता नरहेको बताएकी छिन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक, शून्य तथा विशेष समयमा उठेका प्रश्नहरूको जवाफ दिदै मन्त्री मेहताले ढल्केबरमा नै सुविधान सम्पन्न ट्रमा सेन्टर निर्माण गरिने स्पष्ट पारेकी हुन् । उनले ढल्केबरमा ट्रमा सेन्टर निर्माण सम्पन्न हुन केहि समय लाग्ने भएकाले तत्कालका लागि लहानमा अस्थायी प्रकारको ट्रमा सेन्टर बनाउन खोजिएकाले भ्रममा नपर्न आग्रह गरिन् ।
मधेश प्रदेशको सिरहास्थित लहान प्रादेशिक अस्पतालमा सिटी स्क्यान, जनशक्ति, ब्लड बैंक र बिरामीको चाप उपलब्ध रहेकाले तत्काल ट्रमा युनिट सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ । ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको दीर्घकालीन प्रक्रिया अगाडि बढिसकेको उनको भनाइ छ ।
उनले लहानको ट्रमा युनिट ढल्केबरको विकल्प नभई ढल्केबरमा भौतिक संरचना तयार नहुञ्जेलसम्मका लागि गरिएको अन्तरिम र व्यावहारिक व्यवस्था मात्र भएको स्पष्ट पारिन् । मन्त्री मेहताले एउटा ठाउँमा पूर्वाधार निर्माण भइरहँदा अर्को ठाउँमा तत्काल सेवा विस्तार गर्नु विरोधाभास नभएको र यसलाई क्षेत्रगत प्रतिस्पर्धा वा विवादको रूपमा नलिन आग्रह समेत गरिन् ।
यस विषयमा अनावश्यक विरोध वा आन्दोलन नगर्न र नागरिकलाई तत्काल सेवा पु¥याउने कार्यमा सहयोग गर्न जनप्रतिनिधि तथा सम्बन्धित पक्षहरूलाई उनले अनुरोध समेत गरेकी छिन् । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्न लागिएको भन्दै स्थानीयवासीले सोमबार नै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका गरेका थिए ।















प्रतिक्रिया