रौतहट । रोजगारीका लागि भारतको पञ्जाव पुगेका नेपालीहरू घर फर्किने क्रममा सीमावर्ती भारतीय बजार ढाकामा भएको भीषण अटो दुर्घटनामा सर्लाहीका एक युवाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।
दुर्घटनामा सर्लाहीको धनकौल गाउँपालिका–४ निवासी लगन राम भनिने ढुनमुन रामका ३२ वर्षीय छोरा अजय रामको मृत्यु भएको हो । शनिबार बिहान करिब ५ बजे उनीहरू सवार अटो दुर्घटनामा परेको थियो ।
अजयसहित उनीहरू पञ्जावमा दैनिक ज्यालादारीमा कृषि तथा खेतीपातीको काम गर्दै आएका थिए । रोजगारी सकेर घर फर्किने क्रममा सीमावर्ती क्षेत्रमा आइपुगेपछि उनीहरू सवार अटो दुर्घटनामा परेको बताइएको छ ।
दुर्घटनामा उमेश राम, नर्सिङ राम, प्रमोद राम, चुनचुन राम, दिलीप राम र नवीन माझी घाइते भएका छन् । घाइते सबैको भारतस्थित सरकारी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
दुर्घटनामा ज्यान गुमाएका अजय रामको शव पोस्टमार्टमका लागि सरकारी अस्पताल ढाका लगिएको छ ।
दुर्घटनामा ज्यान गुमाएका अजय रामको शव पोस्टमार्टमका लागि सरकारी अस्पताल ढाका लगिएको छ ।
विदेशमा पसिना बगाएर परिवारको गुजारा चलाउन बाध्य नेपाली मजदुर घर फर्किने क्रममा ज्यान गुमाउनुपर्ने अवस्था आएको भन्दै स्थानीयस्तरमा चिन्ता व्यक्त गरिएको छ । समाजसेवी रामशरण यादवले मृतकका परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरूको उपचारको सम्पूर्ण व्यवस्था मिलाउन तथा अजयको शव नेपाल ल्याउने प्रक्रिया सहज बनाउन नेपाल सरकारसँग माग गरेका छन् ।
उनले भारतमा रोजगारी गरेर फर्किने नेपाली नागरिक दुर्घटनामा पर्दा उद्धार, उपचार तथा शव नेपाल ल्याउने प्रक्रियामा परिवारले झेल्नुपर्ने समस्या अन्त्य गर्न सरकारले सीमावर्ती क्षेत्रमा प्रभावकारी संयन्त्र बनाउनुपर्ने बताए । रोजगारीका लागि विदेशिएका नेपालीको ज्यानै जाने गरी भएका यस्ता दुर्घटनापछि परिवारले राहत र शवका लागि समेत धाउनुपर्ने अवस्था अन्त्य गर्न सरकार गम्भीर बन्नुपर्ने उनको माग छ ।















प्रतिक्रिया