१ कार्तिक २०८३, शनिबार

दर्जी दाजुभाइको सफलता ‘कपडा सिलाउने मेसिनदेखि महलसम्म’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

imagesभीमदत्तनगर, ३१ साउन । चालीसको दशकमा कञ्चनपुरको भीमदत्तनगर बजारमा दीपक दर्जीका दाजुभाइ दुईवटा मेसिनको सहारामा फड्कामा सिलाइको काम गर्थे ।

विसं २०३४ मा पुख्र्यौली घर बझाङको कँडेल गाविसबाट तराई झरेका दर्जी परिवारका जेठा भाइ हरिभक्त सुरुमा भारतीय सीमावर्ती बजारबाट कपडा किनेर बझाङमा हुने विभिन्न पर्वमा लुगा सिलाइदिने काम गर्थे । उनीहरुले भीमदत्तनगर बजारका गल्ली छेउ (फड्) मा बसेर दिनभरि कपडा सिलाउने काम गरे ।

“सुरुमा म क्याम्पस पढ्दा दुईजना दाजु फड्मा बसेर सिलाइको काम गर्थे,” हाल भीमदत्तनगरपालिका–१८ कटानमा घरजम गरी बसेका दीपक दर्जीले भन्नुभयो–“त्यो फड्को परिश्रमले हामी फस्टाउँदै गयौँ ।”

“सुरुमा ६ जना दाजुभाइ नै यो पुख्र्यौली पेसामा थियौ,ँ” दीपकले भन्नुभयो – “एउटा भाइ बित्नु भयो, अर्को अपाङ्ग हुनुभयो ।” फड्बाटै फड्को मारेका दर्जी दाजुभाइ अहिले महलका मालिक भएका छन् ।

विसं २०५१ सालमा भीमदत्तनगरस्थित मदन चोकमा मोर्डन तयारी पोसाक उद्योग स्थापना गरेका उनीहरुले अहिले करोडौँको सम्पत्ति आर्जन गरिसकेका छन् । “फड्बाट पसलमा गएर कपडासहित बेच्न थाल्यौँ,” उहाँले भन्नुभयो – “अहिले व्यापार फस्टाउँदै गएको छ ।”

विसं २०५१ पछि २०६८ सालमा धनगढीमा पनि मोर्डन तयारी पोसाक उद्योगको शाखा विस्तार भयो । अहिले धनगढी र भीमदत्तनगरमा गरी मासिक रु पाँच लाख जतिको सटिङ÷सुटिङको कारोबार भइरहेको दीपकले बताउनुभयो ।

धनगढी र भीमदत्तनगरमा सिलाइ उद्योगमा ४२ मजदुरलाई काम दिइरहेको बताउँदै उहाँले आफूपछिको पुस्ता पनि उक्त पेसामा लागिसकेको जानकारी दिनुभयो । “यो व्यापारबाटै हामीले धनगढीमा रु दुई करोड ५० लाखको घर किन्यौँ,ं” उहाँले भन्नुभयो – “यहाँ पनि परिवारको गुजारा राम्रै भएको छ ।”

दीपकका ६ दाजुभाइको ५४ जनाको परिवार सगोलमै बसेका छन् । “सबै दाजुभाइ मिलेरै काम गरिरहेका छौँ,” उहाँले भन्नभयो – “मिलेर काम गरेकाले राम्रै भएको छ ।” विसं २०६९ मा उहाँहरुले रु एक करोडको लगानीमा आफ्नै घरमा ‘सुटगढी धनगढी’ तयारी पोसाक उद्योगसमेत सञ्चालनमा ल्याउनुभएको छ ।

धनगढी र भीमदत्तनगरमा गरी तीन ठाउँमा उद्योग सञ्चालनमा रहेका छन् । भीमदत्तनगर र धनगढीमा दुईवटा उद्योग अझै भाडाको घरमै सञ्चालित छन् । “चार वर्षअघि धनगढीमा घर किनेर सुटगढी सञ्चालन गरेका हौँ” – उहाँले भन्नुभयो ।

दर्जी दाजुभाइले सुरुमा दुईवटा मेसिन खरिद गर्न महिनौँ मिहेनत गरेका थिए । “निरन्तरको मिहेनत र इमान्दारिताले सफलता दिलाउँदो रहेछ,” उहाँले विगत सम्झिँदै भन्नुभयो । रासस