१ कार्तिक २०८३, आइतबार

सरकारविरूद्ध पुनः सशक्त आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले वर्तमान राजनीतिक व्यवस्था र सरकारविरुद्ध पुनः सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन् ।

काठमाडौमा आइतबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले वर्तमान लोकतान्त्रिक भनिने व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता खोसिएको र विचार मानिने लोकतन्त्रमा नागरिकका आधारभूत अधिकार समेत कुण्ठित गरिएको आरोप लगाए ।

उनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको उपदेश स्मरण गर्दै नेपाल सबै जातजाति र वर्गको साझा फूलबारी भएको बताए ।

प्रसाईंले सरकार र सत्तापक्षीय नेताहरूले आफ्ना मान्छे खडा गरेर नक्कली सहमति र प्रपञ्च रचिरहेको आरोप लगाए ।

प्रसाईंले आफूहरूको आन्दोलन कुनै धर्म वा समुदाय विशेषको विरुद्ध नभई सिङ्गो व्यवस्था परिवर्तनका लागि भएको बताए । उनले पूर्ववर्ती सरकार र सम्झौताहरूको प्रसङ्ग जोड्दै किरात र बौद्ध धर्मसहितको वैदिक सनातन हिन्दु अधिराज्य र राजसंस्थाको पुनर्वहाली नै आफूहरूको मुख्य एजेण्डा भएको दोहोर्‍याए ।

प्रसाईंले संविधान संशोधन गरी उच्चस्तरीय कार्यदलमार्फत आफ्ना मागहरु सम्बोधन नभए व्यवस्था ढाल्नेसम्मको चेतावनी दिए ।

प्रसाईंले नेपालका सम्पूर्ण बुद्धिजीवी, पत्रकार, र नागरिकहरूलाई देशको अस्तित्व जोगाउन र हिन्दु राष्ट्र पुनर्वहालीका लागि एकै ठाउँमा उभिन अपिल गरेका छन् ।