१ कार्तिक २०८३, आइतबार

संयमता अपनाउन पूर्वराष्ट्रपति भण्डारीको आह्वान

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकता, सामाजिक सद्भाव र कानूनी शासन सुदृढ बनाउन सबै पक्षलाई संयमता अपनाउन आह्वान गरेकी छन् ।

आइतबार तुलसीलाल अमात्यको २९ औं स्मृति दिवसको अवसरमा एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र भएकाले विविधताबीचको एकता, आपसी सम्मान, सहिष्णुता र सामाजिक सद्भाव नै राष्ट्रिय एकताको प्रमुख आधार रहेको बताइन् । उनले संवेदनशील परिस्थितिमा अफवाह, घृणा र विभाजनका प्रयासबाट टाढा रहँदै आ–आफ्नो स्थानबाट जिम्मेवार भूमिका निर्वाह गर्न समेत सबै पक्षलाई आग्रह गरिन् ।

पूर्वराष्ट्रपति भण्डारीले तुलसीलालको योगदानको चर्चा गर्दै तुलसीलालसहित मुलुकमा लोकतन्त्र स्थापित गर्न भूमिका निर्वाह गर्ने नेताहरूको आदर्श र विचारलाई आत्मसात गर्दै अगाडि बढ्न आवश्यक रहेको समेत बतइन् ।

पूर्वराष्ट्रपति भण्डारीले आज प्राप्त लोकतान्त्रिक उपलब्धिका पछाडि अमात्यजस्ता अग्रजहरूको लामो सङ्घर्ष, त्याग र समर्पण रहेको उल्लेख गर्दै उनीहरुलाई सम्झनु भनेको केवल इतिहासको स्मरण गर्नु मात्र नभई उनीहरुको आदर्श र मूल्यलाई व्यवहारमा उतार्नु पनि भएको बताइन् ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले देशको अस्तित्वको रक्षा सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेको बताए ।

नेता नेपालले देशको स्वाभिमान बचाउने कुरा अहिले प्रमुख रूपमा मुखरर भएको उल्लेख गरे । उनले नेपाली जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त संविधान, लोकतन्त्र, गणतन्त्र र संघीयतालाई जोगाउनुपर्ने जिम्मेवारी रहेको स्पष्ट पारे ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले नेता अमात्यले प्रतिष्ठित र सहज जीवन बिताउने अवसर हुँदाहुँदै किसान, मजदुर तथा उत्पीडित समुदायको हक र अधिकारका लागि सङ्घर्षको कठिन बाटो रोजेको उल्लेख गरे ।

कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष समेत रहेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपाल र पूर्वअध्यक्ष केशवप्रसाद बडाललाई सम्मान गरिएको थियो ।