१ कार्तिक २०८३, आइतबार

काठमाडौं र भक्तपुरबाट अवैध भिओआईपी सञ्चालनमा संलग्न ४ जना पक्राउ

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भिओआईपी) सञ्चालनमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

सिआईबीका अनुसार पक्राउ परेकाहरूबाट सिम बक्स, ल्यापटप, राउटर, मोबाइल फोन, ब्याट्री, इन्भर्टर र ठूलो संख्यामा एनसेल सिमकार्ड बरामद गरिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा बरामद उपकरणहरू एनपीआर७७क्यासिनोडटकम, आईएमई८८डटकम र खल्ती८८डटकममा अनलाइन बेटिङ एप सञ्चालनमा समेत प्रयोग भइरहेको खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा गोरखाको अजिरकोट गाउँपालिका–५ घर भई काठमाडौं–८ जयबागेश्वरीमा कोठा भाडामा लिई बस्ने २२ वर्षीय प्रोशेस गुरुङ, काठमाडौंको शंखरापुर नगरपालिका–१ घर भई काठमाडौं–७ गणेशस्थान बस्ने २० वर्षीया मुना श्रेष्ठ, कञ्चनपुरको कृष्णपुर–७ स्थायी ठेगाना भई भक्तपुरको सूर्यविनायक–४ मा कोठा भाडामा लिई बस्ने २१ वर्षीय जेनित झुकाल र भक्तपुरको सूर्यविनायक–१ स्थित आफ्नै घरमा भिओआईपी सञ्चालन गर्नका लागि तयारी गरेको अवस्थामा ३४ वर्षीय कृष्ण नगरकोटी रहेका छन् ।

उनीहरूमाथि दूरसञ्चार ऐन, २०५३ को दफा ४७ को उपदफा ५ बमोजिमको कसूरमा काठमाडौं र भक्तपुर जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको सिआईबीले जनाएको छ ।