१ कार्तिक २०८३, आइतबार

प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्युठान । नेकपा (एमाले)ले प्युठानमा सञ्चालन गरेको ‘मिसन पार्टी जागरण’ अभियानको पहिलो चरणअन्तर्गत जिल्ला र नौवटै स्थानीय तहमा कार्यक्रम सम्पन्न गरेको छ । अभियानका क्रममा पार्टीका केन्द्रीय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सूर्यबहादुर थापा क्षेत्रीले करिब ४ सय नेता कार्यकर्तासँग प्रत्यक्ष भेटघाट गरेका छन् ।

पार्टीका अनुसार साउन १२ गते जिल्ला अध्यक्ष विजयविराज विष्टको अध्यक्षतामा बसेको जिल्ला कमिटीको पूर्ण बैठकले पालिकास्तरीय कार्यक्रमको कार्ययोजना तय गरेको थियो । सोही दिन नेतृत्व तहमा परामर्श बैठक समेत आयोजना गरिएको थियो ।

कार्ययोजनाअनुसार साउन १४ गते झिमरुक, मल्लरानी र गौमुखी गाउँपालिकामा तथा साउन १५ गते प्युठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका, सरूमारानी र ऐरावती गाउँपालिकामा पालिकास्तरीय बैठक सम्पन्न भएका थिए । साउन १६ गते माण्डवी गाउँपालिकामा बैठक सम्पन्न भएसँगै पहिलो चरणका कार्यक्रम सकिएको हो ।

बैठकहरूमा केन्द्रीय प्रतिनिधिका रूपमा सूर्यबहादुर थापा क्षेत्री, हरिप्रसाद रिजाल, धनबहादुर रायमाझी, धर्म गिरी, तुल्सीराम शर्मा तथा जिल्ला अध्यक्ष विजयविराज विष्ट लगायतका नेताहरू सहभागी भएका थिए ।

अभियानका क्रममा थापाले कार्यकर्तालाई जनताको घरदैलोमा पुगेर पार्टीको गतिविधि विस्तार गर्न, संगठनलाई थप सक्रिय बनाउन तथा जनतासँग प्रत्यक्ष संवाद बढाउन निर्देशन दिएको एमाले प्युठानले जनाएको छ ।

जिल्ला कमिटीले प्रदेश कमिटीले तोकेको समयसीमाभित्र संगठित सदस्यता नवीकरण सम्पन्न गर्ने तथा वडा तहसम्म पुगेर प्रत्यक्ष उपस्थितिमै सदस्यता नवीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।

एमालेका अनुसार २०८२ फागुन २१ को निर्वाचनपछिको समीक्षाका आधारमा संगठनलाई पुनः सक्रिय, व्यवस्थित र एकताबद्ध बनाउने उद्देश्यले ‘मिसन पार्टी जागरण’ अभियान सञ्चालन गरिएको हो । अभियान आगामी स्थानीय तथा प्रदेश तहको निर्वाचनसम्म निरन्तर सञ्चालन गर्ने निर्णय गरिएको पार्टीले जनाएको छ ।

पालिकास्तरीय कार्यक्रम सम्पन्न गरेसँगै एमालेले मल्लरानी गाउँपालिका–३ बाट वडा तहको जागरण अभियान सुरु गरेको जनाएको छ । पार्टीका अनुसार वडा तहसम्मै पुगेर जागरण कार्यक्रम सञ्चालन गर्ने अभियान सुरु गर्ने प्युठान सम्भवतः देशकै पहिलो जिल्ला बनेको दाबी गरिएको छ ।