काठमाडौं । काराकोरम पर्वत शृङ्खलाअन्तर्गत पाकिस्तानको ब्रोड पिक (८,०४७ मिटर)मा गएको भीषण हिमपहिरोमा परेका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को निधन भएको एलिट एक्स्पेडले जनाएको छ ।
४३ वर्षीय पुर्जाले यसै हप्ता सामाजिक सञ्जाल एक्समार्फत अक्सिजनबिना दोस्रोपटक विश्वका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने कीर्तिमानको नजिक पुगेको जानकारी गराएका थिए ।
बिहीबार क्याम्प–३ नजिकै छ हजार ६ सय मिटरको उचाइमा हिमपहिरो गएको थियो ।
एलिट एक्स्पेडले पुर्जासँगै हिमपहिरोमा ज्यान गुमाउने उनका आरोहण सहयात्री तथा गाइड पुरबहादुर गुरुङ (युक्ता) र निमा शेर्पाप्रति पनि श्रद्धाञ्जली अर्पण गरेको छ ।
कम्पनीले मृतकका परिवार, आफन्त र साथीभाइप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
कम्पनीले खोज तथा उद्धारमा संलग्न सबै उद्धारकर्मी र अत्यन्त कठिन परिस्थितिमा सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरेको छ ।
‘निम्स र यस दुर्घटनामा ज्यान गुमाउने सबैलाई हामी कहिल्यै बिर्सने छैनौँ । उहाँहरूको आत्मा, उद्देश्य र विरासतले आउने पुस्तासम्म प्रेरणा दिइरहनेछ ।’ कम्पनीले भनेको छ ।















प्रतिक्रिया