रौतहट । रौतहट प्रहरीले अदालतबाट कैद तथा जरिवाना सजाय सुनाइएपछि फरार रहँदै आएका १० जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी इकाइबाट परिचालित टोलीले मंगलबार विभिन्न स्थानमा लुकिछिपी बसेका प्रतिवादीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरू जिल्ला अदालत रौतहटबाट विभिन्न मुद्दामा दोषी ठहर भई सजाय तोकिए पनि फरार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार पक्राउ पर्नेमा चोरी मुद्दाका गौर नगरपालिका–४ निवासी कल्लु भन्ने अमित कुमार सहनी रहेका छन् । उनीविरुद्ध २ वर्ष ११ महिना ३ दिन कैद र २० हजार रुपैयाँ जरिवाना सजाय बाँकी रहेको थियो ।
यस्तै, लेनदेन बिगो मुद्दामा दोषी ठहर भएका देवाही गोनाही नगरपालिकाका मोजेलाल राजत कुर्मीलाई २ वर्ष कैद सजाय कार्यान्वयनका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । कुटपिट तथा लुटपिट मुद्दामा चन्द्रपुर नगरपालिका–५ की नाजदा खातुन तथा चन्द्रपुर–४ का शेख समिर र शेख मोतिजर पक्राउ परेका छन् । उनीहरूलाई जनही १० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
त्यसैगरी, चोरी मुद्दाका देवाही गोनाही–४ का विक्रमकुमार महतो (१३ दिन कैद), ज्यानसम्बन्धी कसुर मुद्दाका परोहा–४ का तिलाई राय यादव (२३ दिन कैद र ३ हजार रुपैयाँ जरिवाना), चोरी मुद्दाकै गढीमाई–५ का करणकुमार यादव तथा माधव नारायण–४ का रामकुमार यादव (जनही २० हजार रुपैयाँ जरिवाना) समेत पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेका सबै प्रतिवादीलाई मंगलबार नै जिल्ला अदालत रौतहटमा उपस्थित गराई कैद भुक्तान तथा जरिवाना असुलउपरको प्रक्रिया अघि बढाइएको छ । फरार प्रतिवादी खोजी तथा पक्राउ अभियानलाई थप प्रभावकारी रूपमा निरन्तर सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।















प्रतिक्रिया