काठमाडौं । व्यवसायी तथा राजनीतिक अभियन्ता दुर्गा प्रसाईंले गृहमन्त्री सुधन गुरुङलाई लक्षित गर्दै सुनसरी घटनादेखि रोहिंग्या शरणार्थी, ब्र्याक युएसए र स्टुडेन्ट्स फर फ्रि तिब्बतसम्मका विषय जोडेर गम्भीर प्रश्न उठाएका छन् ।
बुधबार फेसबुक स्टाटसमार्फत लामो धारणा सार्वजनिक गर्दै प्रसाईंले सुनसरीमा भएको घटनालाई योजनाबद्ध भएको दाबी गरेका छन् ।
उनले लेखेका छन्, “सुनसरीमा सुनियोजित रूपमा नेपाली मुसलमानलाई बदनाम गर्न र मिलेर बसेको नेपाली समाज भाँड्न आयातित रोहिंग्या शरणार्थीहरू प्रयोग गरियो । शरणार्थी नेपाल ल्याउने गिरोह को हो, हामीले त्यो बुझ्नुपर्छ ।”

प्रसाईंले बङ्गलादेशको कक्स बजार क्षेत्रलाई केन्द्र बनाएर लाखौँ रोहिंग्या संरक्षण गर्ने र परिचालन गर्ने ब्र्याक युएसए नामक अमेरिकी संस्थासँग गृहमन्त्रीको सम्बन्धबारे पनि प्रश्न उठाएका छन् । “ब्र्याक युएसएसँग हाम्रा गृहमन्त्रीको साइनो के हो ? अब जवाफ दिनुपर्छ,” उनले लेखेका छन् ।
त्यसैगरी, प्रसाईंले गृहमन्त्री केही दिनअघि पुगेका स्थानहरूमा त्यसपछि घटना भएको दाबी गर्दै गोली चल्नुअघि बिजुली काटिएको विषय समेत उल्लेख गरेका छन् ।
“तपाईं केही दिनअघि जहाँ जहाँ पुग्नुभयो, त्यहीँ घटना घटेको छ । गोली चल्नुअघि बिजुली काटिएको छ । काग कराउनु र बेल हराउनु एकैपटक भएको छ, त्यसैले यो जेन–जेड विद्रोहजस्तै पूर्वयोजनामा घटेको घटना होइन भन्न सकिँदैन,” उनले स्टाटसमा उल्लेख गरेका छन् ।

प्रसाईंले जेन–जेड आन्दोलनमा नेपाल प्रहरी र अहिले धार्मिक द्वन्द्वमा नेपाली सेना निसानामा पारिएको दाबी गर्दै यसलाई युएनमिनमार्फत विदेशी सेना नेपाल ल्याउने योजनासँग समेत जोडेका छन् ।
“जेन–जेड मा नेपाल प्रहरी निसानामा पारियो, अहिले धार्मिक द्वन्द्वमा नेपाली सेना निसानामा पारिँदै छ । जब नेपाली सेना विवादित र असफल हुन्छ, तब युएनमिनको नाममा विदेशी सेना नेपाल ल्याउने प्रपञ्च रचिन्छ । अनि तरलतामा दलाई लामा जन्मिन्छन्,” उनले लेखेका छन् ।
प्रसाईंले आफूले गृहमन्त्रीकै सामाजिक सञ्जालबाट सार्वजनिक सामग्रीका आधारमा प्रश्न उठाएको उल्लेख गर्दै लेखेका छन्, “मैले यहाँ गृहमन्त्रीकै सामाजिक सञ्जालबाट साभार गरेर उहाँको ब्र्याक युएसएसँगको सम्बन्धबारे प्रश्न गरेको छु । स्टुडेन्ट्स फर फ्रि तिब्बतपछि यो ब्र्याक युएसए रोहिंग्या मिसन के हो ? जनतालाई जवाफ दिनुहोला ।”
















प्रतिक्रिया