१ कार्तिक २०८३, आइतबार

सुनसरी गोलीकाण्डको जिम्मेवारी लिँदै गृहमन्त्रीले राजीनामा दिनुपर्छ : रविकिरण हमाल

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जेनजी आन्दोलनका नेता रविकिरण हमालले सुनसरीमा भएको गोलीकाण्डको पूर्ण नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री सुधन गुरुङले स्वीकार गर्दै पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

पवित्र श्रावण सोमबारको अवसरमा स्नानका लागि गइरहेका युवा ओमप्रकाश मेहताको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै हमालले दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै, घाइते सबैको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै हमालले नागरिकमाथि घातक बल प्रयोग हुनु अत्यन्त गम्भीर विषय भएको उल्लेख गर्दै घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन गर्न माग गरेका छन् । उनका अनुसार भीड व्यवस्थापनका क्रममा सुरक्षाकर्मीले संयम अपनाउँदै प्रचलित विधि, मापदण्ड र गैरघातक उपकरणहरूको अधिकतम प्रयोग गर्नुपर्नेमा त्यसो हुन नसक्नु राज्य संयन्त्रको गम्भीर असफलता हो ।

उनले सुरक्षा निकायको कार्यशैलीको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री गुरुङले लिनुपर्ने भन्दै पदमा बसिरहनुको कुनै औचित्य नरहेको बताए । साथै, घटनामा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याई पीडित परिवारलाई न्याय दिलाउन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेका छन् ।