बारा । बारा जिल्लासँग सिमाना जोडिएको भारतको बिहार राज्यअन्तर्गत पूर्वी चम्पारणको घोडासहन क्षेत्रमा प्रहरीले अन्तर्राष्ट्रिय लागूऔषध तस्करी सञ्जालविरुद्ध ठूलो सफलता हासिल गरेको छ ।
नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको करिब ६ किलो ५९० ग्राम अफिम शनिबार साँझ बरामद गर्दै प्रहरीले नेपाल र बिहारका दुई महिलालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार नेपालबाट मुजफ्फरपुरतर्फ जाँदै गरेको यात्रुवाहक बसमा घोडासहन बस स्ट्यान्डमा गरिएको सघन जाँचका क्रममा ९ वटा छुट्टाछुट्टै प्याकेटमा लुकाइराखिएको उक्त अफिम बरामद गरिएको हो । बरामद अफिमको अन्तर्राष्ट्रिय बजार मूल्य करिब ५० लाख भारतीय रुपैयाँ रहेको जनाइएको छ ।
पक्राउ पर्नेमा बिहारको सुगौली निवासी सीमा देवी र नेपालको बारा जिल्ला कलैया बैराठपुर निवासी बदामी देवी रहेको भारतीय प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा दुवैले लागूऔषध ओसारपसारमा संलग्न रहेको स्वीकार गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनीहरूले नेपालबाट मोतिहारी हुँदै मुजफ्फरपुर पुर्याउने योजनाअनुसार अफिम बोकेको खुल्न आएको छ ।
घटनापछि प्रहरीले तस्करी सञ्जालका मुख्य योजनाकार तथा मुजफ्फरपुरस्थित रिसिभरको खोजी तीव्र पारेको जनाएको छ ।
मोतिहारी प्रहरीले पछिल्लो समय नेपाल–भारत सीमा क्षेत्रमा लागूऔषध तस्करी नियन्त्रणका लागि निगरानी र चेकजाँच थप कडा बनाउँदै आएको छ ।















प्रतिक्रिया