१० श्रावण २०८३, आइतबार

सडक होइन, नीति नै भद्रगोल छ, पूर्वाधारबिना ट्राफिक जरिवाना लागू गर्न हुँदैन : सरोज सिटौला

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले नेपालको ट्राफिक व्यवस्थापन र सार्वजनिक यातायात सुधारका लागि पूर्वाधार र व्यवहारिक नीति आवश्यक रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंस्थित नेपाल पुलिस क्लबमा आयोजित मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले ट्राफिक एफएमले ट्राफिक व्यवस्थापन, सहजीकरण र जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनले भने, ‘मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जले ट्राफिक व्यवस्थापन गर्न, ट्राफिक सहजीकरण गर्न, जनचेतना फैलाउन विश्वसनीय कुनै एफएम छ भने त्यो ट्राफिक एफएम नै हो । ट्राफिक प्रहरीको जवानदेखि उच्च तहसम्मका सबैलाई सलाम गर्न चाहन्छु ।’

सिटौलाले ट्राफिक प्रहरीको भूमिकाको प्रशंसा गर्दै उनीहरू नभए राजधानीको यातायात व्यवस्था नै अस्तव्यस्त हुने बताए ।

‘ट्राफिक प्रहरी सडकमा नहुँदा शहरै अस्तव्यस्त हुन्छ । मेट्रो ट्राफिक एफएममा म पनि आउँछु । यातायात व्यवसायीहरूको नेतृत्व गर्दै टक शोहरूमा आएका छौँ । तर आज विज्ञापन मागेर देउसी खेल्न घर–घरमा गएजसरी जानुपर्ने दुर्भाग्य हो । सरकारले यसलाई विशेष ढङ्गबाट आर्थिक रूपमा व्यवस्थापन गर्न, साधन–स्रोतयुक्त ढङ्गबाट अगाडि लैजानुपर्छ । त्यसका लागि सम्बन्धित मन्त्रालय वा निकायसँग आह्वान पनि गर्न चाहन्छु । मेट्रो ट्राफिक एफएमको आवाज नेपालको कुना–काप्चासम्म पुग्न सकोस्,’ उनले भने ।

उनले सरकारले विदेशी मुलुकको सडक व्यवस्थापनको नक्कल मात्र गरेर नेपालमा नीति लागू गर्न नहुने धारणा राखे ।

‘अमेरिका पुगेर, युरोपका सडक हेरेर नेपालको नियम र नीतिमा जानु हुँदैन । म जिम्मेवारीका साथ नेपालको सार्वजनिक यातायातलाई बदल्छु भनेर आएको हुँ । आज लगानीकर्ता खुसी छैनन्, काम गर्ने कामदार खुसी छैनन् । किन खुसी भएनन् भने सिंहदरबारमा बसेर नीति बनाउने ठाउँमा राम्रो नीति नआएकै कारण आज भद्रगोल छ,’ उनले भने ।

काठमाडौं उपत्यकामा सवारी साधनको चाप अत्यधिक रहेको उल्लेख गर्दै उनले पूर्वाधार विकासलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरे ।

‘काठमाडौं उपत्यकामा २३ लाख मोटरसाइकल छन् । २६ लाखभन्दा बढी सवारी साधन छन्, ती कहाँ गुड्ने, त्यसैले पहिला पूर्वाधारको व्यवस्था गरिदिनुहोस्,’ उनले भने ।