रामेछाप । अविरल वर्षापछि आएको बाढीका कारण खारे खोलाले जमिन कटान गरेपछि दोलखाको गौरीशंकर गाउँपालिका–८ खारेस्थित लोगटा बस्ती उच्च जोखिममा परेको छ । बस्तीका करिब १० घर तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था सिर्जना भएको स्थानीयले बताएका छन् ।
स्थानीय रवीन्द्र सुरेलका अनुसार बस्तीमा रहेका १४–१५ घरमध्ये अधिकांश घर जोखिममा परेका छन् । बाढीका कारण जमिन कटान बढेपछि स्थानीय पहलबहादुर तमाङ, धनवीर तमाङ र रत्नबहादुर तमाङले घर छाडेका छन् । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

त्यस्तै, बुद्धिमान तमाङ, आरतबहादुर तमाङ र दिनेश तमाङका घर पनि उच्च जोखिममा रहेकाले तत्काल स्थानान्तरण आवश्यक रहेको छ ।
गौरीशंकर गाउँपालिका–८ का वडाध्यक्ष दावारेन्जी शेर्पाका अनुसार सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहयोगमा जोखिममा परेका परिवारका लागि अस्थायी टहरा निर्माण गरिएको छ र उनीहरू सुरक्षित स्थानमा बसिरहेका छन् ।

यस्तै, नदी किनारभन्दा केही माथि रहेका भक्तबहादुर तमाङ, धनबहादुर तमाङ र वीरबहादुर तमाङका घर समेत जोखिममा रहेकाले वर्षा भइरहेका बेला अन्यत्र बस्नुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ ।
बस्ती जोखिममा परेपछि गाउँपालिका अध्यक्ष विश्वास कार्की लगायतको टोलीले घटनास्थलको स्थलगत निरीक्षण गरेको छ । वडाध्यक्ष शेर्पाले गाउँपालिका र वडा कार्यालयले तत्काल अस्थायी टहरा निर्माण तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउने तयारी गरेको बताए ।

हाल जोखिममा रहेका अधिकांश परिवार आफन्तको घरमा आश्रय लिएर बसेका छन् । आवश्यक व्यवस्थापन पूरा भएपछि उनीहरूलाई सुरक्षित स्थानमा स्थायी रूपमा स्थानान्तरण गरिने वडाध्यक्ष शेर्पाले जानकारी दिए ।








प्रतिक्रिया