काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले संयुक्त राष्ट्रसंघीय बसोबास (युएन हेबिट्याट)सम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा मन्त्रालयका सचिवलाई बेवास्ता गर्दै आफ्नै सचिवालयका सचिवलाई अमेरिका पठाएको खुलेको छ ।
न्युयोर्कमा असार ३१ देखि साउन २ गते (जुलाई १५–१८)सम्म आयोजित कार्यक्रममा मन्त्री लम्सालले मन्त्रालयका सचिव गोपाल सिग्देलको सट्टा हालै मन्त्री सचिवालयमा नियुक्त भएका सचिवसरहका सन्तोष पाण्डेलाई पठाएका थिए । पाण्डे कार्यक्रममा सहभागी भएर फर्किसकेका छन् ।
विगतमा भने यस्ता कार्यक्रममा मन्त्रीसँगै मन्त्रालयका सचिव सहभागी हुने गरेका थिए । यसपटक भने मन्त्रालयका सचिवलाई पन्छाएर राजनीतिक नियुक्तलाई पठाइएपछि प्रशासनिक वृत्तमा व्यापक आलोचना र असन्तुष्टि बढेको छ ।
मन्त्रालयका एक कर्मचारीका अनुसार यस्ता अन्तर्राष्ट्रिय कार्यक्रममा मन्त्रालयका सचिव सहभागी हुँदा त्यहाँबाट प्राप्त अनुभव, नीति र अभ्यासलाई नेपालमा कार्यान्वयन गर्ने अवसर मिल्छ । तर अस्थायी राजनीतिक नियुक्तिमा आएका सचिवालयबाट त्यस्तो संस्थागत लाभ नहुने उनको भनाइ छ ।
‘विदेश भ्रमणको उद्देश्य घुमफिर होइन, सिकाइ र अनुभव आदानप्रदान हो । मन्त्रालयका कर्मचारी सहभागी भए त्यसको प्रत्यक्ष लाभ मन्त्रालय र सरकारलाई पुग्छ । तर सचिवालयका कर्मचारीको भूमिका अस्थायी हुन्छ,’ ती कर्मचारीले भने ।
मन्त्री लम्सालका सचिवालयका सचिव पाण्डेले भने आफू मन्त्रीको निर्णयअनुसार नै कार्यक्रममा गएको बताएका छन् । उनका अनुसार मन्त्रीकै नाममा निमन्त्रणा आएको थियो र मन्त्री व्यस्तताका कारण जान नसकेपछि आफूलाई प्रतिनिधिका रूपमा पठाएको हो ।







प्रतिक्रिया