काठमाडौं, ३० साउन । धार्मिक क्षेत्रमा लोकप्रिय कालीबाबा पशुपतिनाथको दर्शन गर्नको लागि काठमाडौं आएर फर्किनु भएको छ ।
साउन २८ गते साँझ भारतको हरियाणाबाट आकाशमार्ग गरी काठमाडौं आउनु भएका बाबा शनिवार पशुपतिनाथ भगवानको दर्शन गरी सोही दिन अपरान्ह भारतका लागि प्रस्थान गर्नुभएको छ ।
काठमाडौं रहँदा उहाँ कमलपोखरी अग्रवालभवनमा रहनुभएको थियो । शनिवार अग्रवालभवनमा विहानैदेखि ठूलो सँख्यामा बाबाका भक्तजनहरूको भीड देखिन्थ्यो । हिन्दूराष्ट्र कायम गर्नुपर्ने लगायतका विषयमा बेलाबखतमा अभिव्यक्ति दिँदै र विभिन्न याज्ञिक अनुष्ठानसमेत सम्पादन गर्दै आउनु भएका बाबाले यसपटक पनि हिन्दूराष्ट्र कायम हुनलाई कसैले पनि रोक्न नसक्ने बताउनु भएको छ । पत्रकारहरूसँग कुरा गर्दै बाबाले ‘हिन्दूधर्मको विरोध गर्ने, हिन्दूराष्ट्र हटाउन खोज्ने आफै गिर्दै गएका छन् अब उनीहरूले आफ्नो कपट नियत सुधारेनन् भने कहिल्यै पनि उठ्नसक्ने छैनन्, यिनीहरूको दुर्दशा हुने र भइरहेको छ’ भन्नुभयो । राजनीति गर्नेहरूले देशको भौतिक विकासको विषयमा काम गर्ने र चिन्ता गर्ने हो, धर्मक्षेत्रको बारेमा निर्णय गर्नुपर्दा धार्मिकक्षेत्रका अधिकारीलाई सोधेर बल्ल निर्णय गर्नुपर्छ जुन कुरा उनीहरूले गरेनन्, बरु विदेशीको प्रलोभनमा परेर धर्मक्षेत्रमाथि कुनियत गरे त्यसैले नै उनीहरू असफल भएका छन्, भन्नु भयो ।
आफ्नोे यो यात्रा विशुद्ध धार्मिक र व्यक्तिगत रहेकोले अहिले अन्य कुनै टिकाटिप्पणी नगर्ने जनाउँदै आफूहरूलाई बाबाले हिन्दूराष्ट्रको विषयमा सञ्चालन भएका र हुने अभियान एवम् संघर्षका कार्यक्रमहरू निस्काम कर्मको रूपमा अगाडि बढाउन सल्लाह दिनु भएको बाबाको दर्शनको लागि अग्रवालभवन पुग्नुभएका शब्द चिन्तन संरक्षण मण्डलका संरक्षक सदस्य दीपक सुवेदीले बताउनुभयो ।
पछिल्लो समयमा हिन्दूराष्ट्र नभइ आफू नेपाल नआउने बताउने गर्नु भएका कालीबाबाले आफ्नो यो यात्रा धार्मिक र व्यक्तिगत बताए पनि त्यसमा विशेष रहस्य हुनसक्ने अनुमान गर्नसकिन्छ । बाबाको आगमनले उहाका भक्तजन एवम् हिन्दूक्षेत्र आफ्नो अभिष्ट उद्देश्य पूरा हुनेमा आशावादी देखिन्थे । बाबाले अब आफ्नो पुनः नेपाल आगमन चाडै नै हुनेसमेत बताउनु भएको छ । हिन्दूराष्ट्र नभइ नआउने अडान गरेका बाबाको यो पुनः आगमन हुने भनाइले रहस्यलाई थप रहस्यमय बनाएको र सो रहस्य नेपाललाई हिन्दूराष्ट्र कायम गर्नेतर्फ उद्दत रहेको विश्लेषकहरू बताउछन् । हरियाणाको एक जंगलमा आश्रममा बस्दै आएका कालिबाबा शुक्रबार एकाएक काठमाडौं आएका थिए ।















प्रतिक्रिया