पोखरा, ३० साउन । बिहीबार राति आफ्नै पार्टीका कार्यकर्ताद्धारा हत्या गरिएका नेपाली काँग्रेस कास्कीका स्थानीय नेता रामजी पौडेल ‘बादल’ को शनिबार अन्त्येष्टि गरिएको छ ।
लेखनाथ १ का पौडेलको शब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टमपछि अन्तिम श्रद्धान्जलीको लागि पार्टी कार्यालयमा राखिएको थियो । श्रद्धान्जलीमा पार्टीका बिभिन्न तहका नेता एबं कार्यकर्ताहरुको सहभागिता थियो । पौडेलको शनिवार नै लेखनाथमा शबयात्रासहित अन्त्येष्टि गरिएको हो ।

लेखनाथ १ बरालथरका बादलको शुक्रवार विहान घरनजिकै मृत अबस्थामा शव भेटिएको थियो । उनको हत्यामा संलग्न तरुण दलका स्थानीय कार्यकर्ता राजु रानाभाट पक्राउ परेका छन । तरुण दलकै फरार अन्य तीन जना कार्यकर्ताको भने खोजी भैरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रविन केसी, प्रकाश गुरुङ र विश्वास गौतम फरार छन ।
अन्त्येष्टि अघि काँग्रेस कास्कीको पार्टी कार्यालयमा अन्तिम श्रद्धान्जलीमा काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा स्थानिय विकासमन्त्री प्रकाशनमान सिंह, सिचाई मन्त्री एनपी साउद लगायतले पार्टीको झण्डा ओढाए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले पौडेलको हत्यामा संलग्नलाई कडा कारबाही गर्ने चेतावनी दिए । हत्यारा जो सुकै भएपनि कारबाहीको दायरामा ल्याउन आफूले सक्दो पहल गर्ने देउवाको भनाइ थियो ।
पौडेलको हत्यापछि आफ्नो दाहिने हात गुमेको भन्दै नेता देउवाले हत्यारा र त्यसका योजनाकारलाई कुनैपनि हालतमा नछोड्ने देउवाले चेतावनी दिए । लेखनाथका लोकप्रिय नेता पौडेल नेपाली कांग्रेसमा देउवा पक्षका कार्यकर्ता थिए ।
कांग्रेस महामन्त्री एबं स्थानिय विकास मन्त्री प्रकाशमान सिंहले पौडेलको हत्याले पार्टी स्तब्ध भएको बताए । लोकतान्त्रिक आन्दोलनमा अनवरत रुपमा संघर्ष गर्ने युवा नेताको दुःखद अन्त्य भएको मन्त्री सिंहले बताए ।
प्रधानमन्त्री एबं पार्टी सभापतिको तर्फबाट पनि समवेदना सुनाउदै सिंहले घटना घटाउनेहरुलाई कारबाहीको दायरामा ल्याई सत्यतथ्य पत्ता लगाउने काममा सरकार दृढ रहेको जानकारी दिए ।
पौडेलको हत्याले कास्की कांग्रेस शोकमा डुबेको छ । यो घटनाले काँग्रेस भित्रको गुटबन्दीले झनै चर्को रुप लिने संकेत दिएको छ ।
(एकराज गिरीको सहयोगमा)




















प्रतिक्रिया