काठमाडौं, ३० साउन । राप्ती अञ्चललाई टुक्र्याएर पाँच नम्बर प्रदेश गठनको अन्तिम तयारी भइरहेका बेला राप्ती अञ्चलका सभासदहरुले अखण्ड राप्तीका पक्षमा आफ्नो प्रतिवद्धता जनाएका छन् । उनीहरुलाई राप्ती अञ्चलका दाङ, सल्यान, प्यूठान, रोल्पा र रुकुम जिल्लालाई पाँच नम्बर प्रदेशमा सग्लै राख्नुपर्ने जनाएका हुन् ।
काठमाडौंको बानेश्वरमा शनिबार दाङलाई प्रदेश नं. ५ को राजधानी कायम गराउनका लागि पहल गर्न गठित सरोकार समितिसँगको छलफलमा कांग्रेस, एमाले, एमाओवादीसहितका राजनीतिक दलका सभासदहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनीहरुले पाँच नम्बर प्रदेशको राजधानी दाङलाई बनाउनका लागि सबै प्रयास र राजनीतिक दवाव दिनेसमेत जनाएका छन् ।
सभासदहरुले टुक्र्याइएका सल्यान र रुकुम जिल्लाहरुलाई पहिला राप्तीमा राखेर पाँच नम्बर प्रदेशमा ल्याउने उल्लेख गरेका छन् । छलफलमा उपस्थित राप्ती अञ्चलका अधिकांश सभासदहरुले सिङ्गो राप्तीलाई पाँच नम्बर प्रदेशमा राखेर प्रादेशिक राजधानी दाङ बनाउनुपर्ने प्रतिवद्धता पनि जनाए ।
दुई दर्जन बढी सभासदहरुको सहभागिता रहेको छलफलमा धारणा राख्ने अधिकांशले सहभागीले पनि सिङ्गो राप्ती र पाँच नम्बर प्रदेशको राजधानी दाङलाई जसरी भए पनि बनाउन दवाव दिएका थिए ।
छलफलमा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले प्रादेशिक राजधानी दाङमा बनाउने विषयमा कुनै विवाद नरहेको बताए । उनले प्रादेशिक राजधानी दाङलाई बनाउनुअघि टुक्र्याइएका सल्यान र रुकुम जिल्लालाई पाँच नम्बर प्रदेशमा ल्याउन पहल गर्नुपर्ने बताए । उनले सल्यान र रुकुम जिल्लालाई पाँच नम्बरमा ल्याएर प्रादेशिक राजधानीमा लड्न सहज हुने बताए । उनले त्यसका लागि सबै दलका सभासद र केन्द्रीय नेताहरुले आआफ्ना अध्यक्ष र सभासपतिलाई दवाव दिनुपर्ने बताए ।
एकीकृत माओवादीका महासचिव कृष्णबहादुर महराले मध्यरातिसम्म पाँच नम्बर प्रदेशमा रहेका सल्यान र रुकुम जिल्ला केही नेताहरुको व्यक्तिगत स्वार्थमा विभाजित गरिएको आरोप लगाए । ‘पत्रपत्रिकामा समाचार हेर्नुस् दुई थरी समाचार छन् । कसैले राप्तीका सबै जिल्ला पाँच नम्बर प्रदेशमा छन् भनेर लेखेका छन् । कसैले छ नम्बरमा भनेर लेखेका छन्’, उनले भने, ‘दाङ जिल्लालाई पाँच नम्बर प्रदेशको प्रादेशिक राजधानी बनाइनुपर्छ ।’
कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले प्रादेशिक राजधानी दाङलाई बनाउन आफूले संविधानसभा र पार्टीमा अभियान चाल्ने बताए । उनले भने, ‘प्रादेशिक राजधानी दाङ नै हुन्छ । राप्तीका जिल्लाहरु विभाजित हुँदैनन् । आआफ्नो क्षेत्रबाट शीर्ष नेताहरुलाई दवाव दिनुपर्छ ।’
सभासद अनिता देवकोटाले विगतका कुरा विर्सेर रुकुम र सल्यान जिल्लालाई राप्तीमै राख्नुपर्ने बताइने । उनले नेताहरुलाई स्थानीयको भावनालाई पनि ध्यान दिनुपर्ने बताइन् । उनले स्थानीय जनताको भावना उल्लंघन गर्न नहुने बतायन् ।
सभासद राजु खनालले राप्तीलाई एकै ठाउँमा राख्न लाग्नुपर्ने बताए । उनले भौगोलिकता र सुगमको विषयलाई ध्यान दिने हो भने पनि दाङलाई प्रादेशिक राजधानी बनाइनुपर्ने बताउ । उनले पाँच नम्बर प्रदेशमा कैलालीलाई पनि समावेश गरिए धेरै राम्रो हुने बताए । उनले दाङलाई केन्द्रीय राजधानी बनाउन सकिने उल्लेख गरे ।
सभासद जनार्दन शर्माले पाँच नम्बर प्रदेशको सिमाङ्कनप्रति असन्तुष्टि जनाए । उनले भने, ‘जुन ढंगले सिमाङ्कन गरिएको छ, त्यो ठीक छैन । मगरहरु र थारुहरुको अधिकार खोस्ने गरी सिमाङ्कन भएको छ ।’
सभासद भागवत विश्वासीले सिमाङ्कनले राप्तीलाई नै झस्काएको बताए । उनले भने, ‘रुकुम र सल्यान छुटाइनु राप्तीलाई चिन्ताको कुरा हो । दाङ प्रादेशिक राजधानी मात्र हैन, देशकै राजधानी हुनसक्ने संभावना रहेको छ ।’
एमालेका सभासद प्रकाश ज्वालाले मध्यपश्चिमलाई क्षतविक्षत पार्ने काम भएको बताए । उनले सुर्खेत, कर्णाली, थारु बाहुल्य जिल्लाहरुमा आन्दोलन उठेको बताए । उनले दाङलाई प्रादेशिक राजधानी बनाउने विषयमा कसैको बिमती नरहेको बताए । ज्वालाले भने, ‘जथाभावी आरोप लगाउने, अनर्गल कुरा गर्ने पनि सुनियो । अहिलेको बिभाजनले मध्यपश्चिममा कुनै राजधानी नहुने परिस्थिति ल्याउँदैछ । यो गम्भीर षडयन्त्र हो । त्यति ठूलो क्षेत्रमा राजधान नहुनु दुर्भाग्य हुनेछ ।’
सभासद बुद्धिराम भण्डारीले रुकुम र सल्यान आफै पनि अन्य प्रदेशमा जाने पक्षमा नरहेको बताए । उनले षड्यन्त्रपूर्व राप्तीबाट छुट्यायएका जिल्लालाई पाँच नम्बर प्रदेशमा राखिनु पर्ने बताउ ।
सभासद पार्वती डि.सी. चौधरीले संघीयता के का लागि हो भन्ने कुरा महत्वपूर्ण रहेको बताइन् । उनले भनिन, ‘सबैको भावना समेटियो कि समेटिएन त ? सबै जातजाति भाषाभाषीको कुरा मिलाउनु पर्दछ । थारुको कुरा थारुले मात्र गर्ने हैन । राजधानीको कुरामा अहिले नै विवाद गर्नु हुँदैन, त्यो प्रादेशिक सभाले तोक्ने विषय हो ।’
साभासद धनबहादुर रायमाझीले सल्यान र रुकुमलाई ५ नं.मा ल्याउनु पर्ने बताएका छन् । उनले प्रदेशसभाले राजधानीको टुङ्गो लगाउने बताए । उनले भने, ‘दाङतिर पाइक पर्ने २३ जिल्ला छन्, केही जिल्लामात्र पूर्वतिर होस् भन्ने चाहन्छन् । दाङ राजधानी हुने कुराले हामी प्यूठानीलाई फरक पार्दैन, तर आधार तयार गर्नुपर्छ भन्ने कुरा हो ।’
एमाओवादीका सभासद टेकबहादुर बस्नेतले रुकुम जिल्लालाई छ नम्बर प्रदेशमा लैजाने आफ्नो सहमति नरेको बताए । उनले सल्यान र रुकुम जिल्ला पाँच नम्बरमा रहनुपर्ने आफ्नो माग रहेको बताए । उनले प्रादेशिक राजधानी दाङलाई बनाउनुपर्ने बताए । उनले राति एघार बजेसम्म रुकुम र सल्यानलाई नटुक्राउने सहमति भएको बताउँदै मध्यरातमा एकाएक अर्कै निर्णय भएको बताए ।
एमाओवादीका नेता नन्दकुमार पुनले सिमाङ्कनको आधार चित्त बुझ्दो नरहेको बताए । उनले सिमाङ्कनमा षड्यन्त्र भएको देख्दादेख्दै र जान्दाजान्दै किन कुरा नउठाएको भन्दै प्रश्न गरे । उनले आफ्नै पार्टीका नेताहरुले सिमा सिमाङ्कनमा उचित ध्यान नदिएको बताए । उनले थारुको पहिचानलाई सम्मान र अधिकार दिनका लागि पनि दाङलाई प्रादेशिक राजधानी बनाइनुपर्ने बताए । उनले थारुहरुले दाङमा रहेर पनि दाङ जिल्लाले अवसरमा पाउन धेरै पछाडि परेको बताए ।
उनले नेताहरुलाई स्थानीयको भवना बुझेर आफ्नो गल्ती सुधार गर्ने छन् भन्ने विश्वास आफूले लिएको बताए । एमाओवादी नेता पुनले राप्तीका सबै जिल्ला र अन्य जिल्लाहरुलाई राखेर दाङलाई केन्द्र बनाएर राजधानी बनाउन लाग्नुपर्ने बताए ।
सभासद सुशीला चौधरीले दाङलाई नै राजधानी बनाउनुपर्ने पक्षमा आफूले लविङ गरिरहेको बताइन् । उनले थारु प्रदेश नपाइ रहेका बेला कमसेकम दाङलाई प्रादेशिक बनाउन जोडदार रुपमा लाग्नुपर्ने बताइन् । उनले केही सभासदहरु र नेताहरुले सुर्खेतलाई लिएर दोधारे नीति लिन नहुने बताइन् । उनले सकिन्छ भने कैलाली जिल्लालाई पनि पाँच नम्बर प्रदेशमा ल्याउनुपर्ने बताइन् ।
सभासद गणेशमान पुनले दाङलाई देशकै केन्द्रीय राजधानी बनाउन सकिने भन्दै राप्तीलाई केन्द्र बनाइ दाङलाई प्रादेशिक राजधानी बनाउने सबै क्षेत्रबाट उपयुक्त रहेको बताए । उनले पहिचानको आधारअनुसार पनि दाङ राजधानी बन्न उपयुक्त छ । उनले सल्यान र रुकुमलाई दुई टुक्रा हुनबाट बचाउन आग्रह गरे ।
सभासद मीठ्ठू मल्लले राप्ती अञ्चल टुक्राएको विरुद्ध ज्ञापन पत्र बुझाउने विषयमा कांग्रेसका सभासदसमेत रहेका केन्द्रीय सदीय दीपक गिरीले हस्ताक्षर गर्न नमानेको बताइन् । उनले दाङमा राजधानी बनाउन तयार रहेको र रुकुम जिल्ला टुक्राउन नपाइने बताइन् । उनले पाँच नम्बर प्रदेशमा रुकुमलाई राखिनुपर्ने बताइन् । राप्ती अञ्चलको रीतिरिवाज सबै मिल्ने गरेको बताउँदै मल्लले डोल्पालाई पनि पाँच नम्बर क्षेत्रमा ल्याउन सुझाव दिइन् ।
सभासद शारदा विश्वकर्माले दाङलाई प्रादेशिक राजधानी बनाउने विषयमा आफू सक्रिय भएर लाग्ने बताइन् ।
सभासद रेखा शर्माले सल्यान र रुकुम जिल्लालाई टुक्राउने खेलमा केही नेताहरु लागेको भन्दै यस्ता षड्यन्त्रको विरोध गर्नुपर्ने बताइन् । उनले सर्खेत र लुम्बिनीमा प्रादेशिक राजधानी बनाउन ठूलो षड्यन्त्र भएको भन्दै अपात्ति जनाइन् । उनले दाङलाई प्रादेशिक राजधानी बनाउँदा थारुहरुको पनि सम्मान हुने उल्लेख गरिन् ।
सभासद अनरकली मियाँले दाङ जिल्लाले राजधानी बनाउन लाग्नु पर्ने बताइन् । उनले यस अभियानमा आफूले सहयोग गर्ने जनाइन् ।
छलफल कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सुदिप गौतमले गरेका हुन् भने कार्यक्रममो अध्यक्षता हेमराज बञ्जाडेले गरेका थिए । कार्यक्रममा झण्डै एक सय राप्तीबासीको सहभागिता रहेको थियो ।













प्रतिक्रिया