भीमदत्तनगर, २९ साउन । विसं २०५४ देखि कञ्चनपुरको भीमदत्तनगरस्थित नेपाल बाल सङ्गठन (बाल मन्दिर) को भवन तथा प्राङ्गण लिजमा लिएर सञ्चालन हुँदै आएको इन्टरनेसनल पब्लिक हाइयर सेकेन्ड्री स्कुलले बिना सम्झौतानवीकरण स्कुल सञ्चालन गर्दै घर बहालकर बुझाउन अटेर गर्दै आएको छ ।
विसं २०७० चैत मसान्तमा बाल मन्दिरसित स्कुलको सम्झौता सकिएको भएपनि सम्झौता अवधिको विषयमा कुरो नमिल्दा घर बहाल कर बुझाउन अटेर गरेको नेपाल बाल सङ्गठन कञ्चनपुर शाखाका सभापति प्रेमसिंह भण्डारीले बताउनुभयो ।
सम्झौता सकिएपछि इन्टरनेसनल स्कुलले पाँच वर्षका लागि नयाँ सम्झौता गर्न आग्रह गरेको थियो तर जीर्ण अवस्थामा रहेको बाल मन्दिरको भवन मर्मत सम्भार गर्नुपर्ने भएको र केन्द्रीय सङ्गठनले पनि लामो समय लिजमा नदिन आग्रह गरेपछि पाँच वर्षका लागि दिन अस्वीकार गरिएको सभापति भण्डारीले बताउनुभयो ।
जिल्ला प्राविधिक कार्यालयले सरकारी दररेट तोक्दै बाल मन्दिरबाट विद्यालयले प्रयोग गरेको जग्गा र भवनको मासिक रु ६५ हजार भाडा हुने बताएको थियो । विसं २०७० चैतसम्म विद्यालयले वार्षिक रु एक लाख घरबहाल बुझाउँदै आएको थियो । त्यसपछि बाल मन्दिर सञ्चालक समितिले वार्षिक भाडा रु चार लाख ३५ हजार ६०० तोकेको थियो ।
“सरकारी मूल्यअनुसार विद्यालयले मासिक रु ९५ हजार बुझाउनुपर्ने हो ।” भण्डारीले भन्नुभयो–“समझदारीअनुसार मासिक रु ३६ हजार ५०० बुझाउने कुरो भएको थियो ।” इन्टरनेसनल स्कुलले बाल मन्दिरको समितिले निर्णय गरी तोकेको भाडा बुझाउने र त्यसका लागि पाँच वर्षे सम्झौता गर्न दबाब दिएको थियो ।
सोही विषयमा कुरो नमिलेपछि समस्या भएको छ । “विसं २०७१ माघ महिनासम्म मासिक भाडा भनेर रकम बुझाएको छ ।” भण्डारीले भन्नुभयो– “बाहिर हामीले पेस्कीसमेत दियौँ भनेर हल्ला गरेर केही हुँदैन ।”
पछिल्लो पाँच महिनायता विद्यालयले बालमन्दिरलाई भाडा बुझाएको छैन । “सम्झौताअनुसार हरेक दुई वर्षमा भवन रङ्गरोगन गर्नुपर्ने हो ।” सभापति भण्डारीले भन्नुभयो– “तर भवनमा कहिल्यै रङ्गरोगन गरिएन ।” उहाँले स्कुल व्यवथापन पक्षले आफूहरुलाई विभिन्न राजनीतिक दलहरुलाई गुहार गरी लामो समय बाल मन्दिर भाडामा लिन दबाब दिएको दुखेसोसमेत पोख्नुभयो । “हामी हाम्रो केन्द्रको निर्देशनअनुसार पनि लामो समय लिजमा दिन सक्ने अवस्थामा छैनौँ,” भण्डारीले भन्नुभयो– “बजार क्षेत्रमै आफ्नो नयाँ संरचना निर्माण गरेको इन्टरनेसनलले बाल मन्दिरबाट बिदा लेओस् ।”
उहाँले पछिल्ला महिनामा नाफामुखी स्कुलले भाडा नतिर्दा बाल मन्दिरमा सञ्चालन गरिएका बाल कक्षासमेत सञ्चालन गर्न समस्या भइरहेको बताउनुभयो । “यतिका वर्ष बाल मन्दिरमै बसेर अहिले विभिन्न आरोप लगाउँदैछन्,” उहाँले भन्नुभयो– “केही भन्दा विद्यार्थीमाथि खेलवाड भयो भन्ने गर्छन ।” केही दिनयता सार्वजनिकरुपमा स्कुलले विभिन्न आरोप लगाउँदै बालमन्दिरमाथि खनिएपछि बालमन्दिरको समितिले प्रमुख जिल्ला अधिकारी गोविन्दबहादुर कार्कीलाई भेटेर समस्या पोखेका थिए । प्रजिअ कार्कीले दुवै पक्षलाई बोलाएर छलफल गर्ने आश्वासन दिनुभएको थियो ।
त्यसैगरी, विद्यालयका प्रबन्ध निर्देशक महाशर्मा न्यौपानेले भने आफूहरुले पाँच वर्षका लागि लिजमा मागेको तर बालमन्दिरले नदिएको बताउनुभयो । “हामीलाई पाँच वर्षका लागि भवन चाहियो ।” उहाँले भन्नुभयो– “नदिए हामी अदालतसम्म जान्छौँ ।” रासस
















प्रतिक्रिया