१ कार्तिक २०८३, शनिबार

सुकी ‘प्रजातन्त्रकी आमा’ बाट सम्मानित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Suki-Aang-Sang

सुन्दरीजल, १ असार । म्यान्माकी नेत्री आङ साङ सुकीलाई बिपी सङ्ग्राहालय समिति सुन्दरीजलले ‘प्रजातन्त्रकी आमा’का रुपमा सम्मान दिएको छ ।

नेपाल भ्रमणमा रहनुभएकी नोबेल शान्ति पुरस्कार विजेता नेत्री सुकी आइतबार बिपी सङ्ग्रहालयको अवलोकन भ्रमणका लागि सुन्दरीजल आउँदा सङ्ग्रहालयका अध्यक्ष परशुराम पोखरेलले उहाँलाई सो सम्मानबाट सम्मानित गर्नुभएको हो ।

सम्मान ग्रहण गरेपछि नेत्री सुकीले विश्वमा शान्ति स्थापना गर्न गौतम बुद्धको जन्मस्थल लुम्बिनी प्रेरणाको स्रोत भएको बताउनुभयो । “धेरै मानिस शान्ति प्राप्तिका लागि लुम्बिनी जान्छन्, म पनि पहिलो पटक गएँ, यथार्थमा लुम्बिनीको वातावरण शान्तिदायक रहेछ“ उहाँले भन्नुभयो ।

नेत्री सुकीले सङ्ग्रहालयमा सङ्ग्रहित सामग्रीको अवलोकन गर्नाका साथै सङ्ग्रहालय परिसरभित्र रहेको बिपी र गणेशमान सिंहको सालिकमा माल्यार्पणसमेत गर्नुभएको थियो । उहाँले सङ्ग्रहालय परिसरभित्र पारिजातको वृक्षसमेत रोप्नुभयो । नेपालमा प्रजातन्त्र स्थापनाका लागि राणाकालमा नेपाली काँग्रेसले गरेको आन्दोलनमा तत्कालीन बर्मा सरकारले हातहतियारसहित सहयोग गरेको थियो ।

नेत्री सुकीलाई स्वागत गर्दै सङ्ग्रहालयका अध्यक्ष पोखरेलले सङ्ग्रहालयलाई राजनीति, साहित्य र दर्शनको त्रिवेणीधामको रुपमा विकास गर्न लागिएको बताउनुभयो ।

सो अवसरमा सुकी सम्मान समितिका संयोजक पुरुषोत्तम बस्नेतले नेत्री सुकीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो भने सभासद् एवं बिपीपुत्र डा शशांक कोइरालाले बिपीले लेख्नुभएका पुस्तक उपहारस्वरुप प्रदान गर्नुभएको थियो । प्रधानमन्त्री एवं बिपी कोइराला ट्रस्टका अध्यक्ष सुशील कोइरालाको निमन्त्रणामा नेत्री सुकी नेपाल भ्रमणमा हुनुहुन्छ ।