काठमाडौं, २९ साउन । एकीकृत माओवादीका नेता तथा राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले सिमाङ्कनमा देखिएको विवाद अन्त्यका लागि पाँच नयाँ प्रस्ताव सार्वजनिक गर्नुभएको छ ।
भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत मुलुकका विभिन्न जिल्लामा सुरु भएको आन्दोलन र मागलाई सम्बोधन गर्न नयाँ प्रस्ताव गर्नुभएको हो ।
उहाँले भन्नुभएको छ, ‘संविधानमा आफ्ना जायज माग सम्वोधन गर्न शान्तिपूर्ण आन्दोलन गर्नेहरू र संविधानसभा असफल पारेर आफ्ना प्रतिगामी स्वार्थ पूरा गर्न षड्यन्त्र गर्नेहरूवीचमा फरक गरेर सोहीअनुरुप ती दुई पक्षसँग फरक फरक व्यवहार गर्नु उचित हुनेछ ।’
एमाओवादी नेता भट्टराईले देशको सबभन्दा उत्पीडित क्षेत्र कर्णालीलाई विशेष स्वायत्त क्षेत्र कायम गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । उहाँले कैलालीको थारू बाहुल्य क्षेत्रलाई प्रदेश ५ मा राख्न प्रस्ताव गर्नुभएको छ ।
सुर्खेतलाई प्रदेश ६ को राजधानी कायम गर्ने राजनीतिक प्रतिवद्धता जनाउनुपर्ने बताउनुभएका भट्टराईले अन्य नमिलेका सीमाना संघीय आयोगले मिलाउने गरी छाड्न प्रस्ताव गर्नुभएको हो ।
उहाँले अरु मिलाउन सकिने विविध विषय विशेष समिति र मस्यौदा समितिले मिलाएर बेलैमा संविधान घोषणा गर्नुपर्ने बताउनुभएको छ ।
मध्यपश्चिमका जिल्लाहरूमा सिमाङ्कनलाई लिएर आन्दोलन चर्किएपछि सम्वाद समितिका सभापति भट्टराईले समस्याको समाधानका लागि भन्दै पाँच प्रस्ताव ल्याएको जनाउनुभएको छ ।












प्रतिक्रिया