९ कार्तिक २०८३, सोमबार

विद्यालय पहिरोले पुरेपछि पढाइ अवरुद्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत, २९ साउन । साउन ३ गते खसेको पहिरोसँगै आएको लेदोले विद्यालयमा क्षति पुगेपछि मालढुङ्गास्थित श्रमिक प्राथमिक विद्यालयका बालबालिकाको पढाइ प्रभावित भएको छ ।

करिब ५०० मिटर माथिबाट खसेको पहिरोले विद्यालयको पछिल्तिर र कक्षाकोठा पुरेपछि पढाइ हुन नसकेको हो ।

कक्षाकोठाको छानैसम्म पुरिएको लेदोभित्र पस्न थालेपछि केही दिनयता चौरमा राखेर पढाइ हुँदै आइरहेको विद्यालयले जनाएको छ ।

“विद्यालय सञ्चालन गरेदेखि कक्षाभित्र राखेर ढुक्कले पढाउन पाइएको छैन”, विद्यालयका प्रधानाध्यापक तेजेन्द्र आचार्यले भन्नुभयो, “अहिले पनि लेदो बगिराखेको छ, विद्यार्थीलाई भित्र राख्ने अवस्था छैन ।”

कालीगण्डकीको किनारमा रहेको विद्यालय तत्काल अन्यत्र सार्ने विकल्प नभएपछि विद्यार्थीलार्ई पढाउन नसकिएको हो ।

कालीगण्डकी किनारमा रहेको मालढुङ्गामा एक सय ११ सुकुम्वासी परिवारको बस्ती छ ।

सबै परिवारले कालीगण्डकीमा बालुवा निकालेर तथा गिट्टी कुटेर जीविकोपार्जन गर्दै आइरहेका छन् ।

तीनै श्रमिक परिवारका बालबालिकालाई पठनपाठन गराउन नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले विसं २०६२ मा विद्यालय बनाइदिएको थियो ।

विसं २०६५ यता निरन्तर पहिरो खस्न थालेपछि स्थानीय बालबालिकाले बर्सातका बेला ढुक्कले पढ्न सकेका छैनन् ।

तीन वर्षसम्म लगातार पहिरो खसेपछि विसं २०६९ मा स्थानीयवासीले स्रोत जुटाएर पहिरो हटाएका थिए ।

त्यसयता दुई वर्षसम्म रोकिएको पहिरो गत ३ साउनमा एक्कासि खसेपछि विद्यालय र नजिकैको बस्ती जोखिममा परेको हो ।

विद्यालयको भवन जोखिममा भए पनि तत्काल वैकल्पिक व्यवस्था गर्न नसकिने शिक्षा कार्यालयले जनाएको छ ।

स्थलगत अनुगमनमा गएको शिक्षाको प्राविधिक टोलीले विद्यार्थीलाई बागलुङ वा पाङ पठाउन भनेको थियो ।

बागलुङ जान सबै विद्यार्थी पाँच किलोमिटर बसमा यात्रा गर्नुपर्छ ।

बस भाडा तिरेर विद्यार्थी पठाउन सक्ने हैसियतका अभिभावक नभएका कारण विद्यार्थीको पढाइ रोकिने चिन्ता थपिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष मैना गुरुङले बताउनुभयो ।

“साना केटाकेटी हिँडेर अरू विद्यालय पुग्न सक्दैनन्”, गुरुङले भन्नुभयो, “गाडी चढाएर विद्यालय पठाउने हैसियत कुनै अभिभावकको छैन ।”