काठमाडौँ, २८ साउन । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले नेपाल सहभागितामूलक प्रजातन्त्रको उत्कृष्ट नमुना भएको बताउनुभएको छ ।
नेसनल युनियन अफ जर्नालिस्ट र ‘पिपुल्स रिभ्यु विक्ली’ले आज यहाँ आयोजना गरेको ‘नेपालको सहभागितामूलक प्रजातन्त्रमा मिडियाको अन्तरसम्बन्ध’ विषयको अन्तक्र्रियामा उहाँले विश्वकै प्रजातान्त्रिक मुलुक संयुक्त राज्य अमेरिकाको दुई सय वर्ष इतिहासमा सिनेटमा पनि २० प्रतिशत मात्र महिला रहेको तर नेपालमा समावेशिताको दृष्टान्त हेर्ने हो भने तल्लो तहदेखि नै महिलाको सहभागिता भएकाले सहभागिता र समावेशी प्रजातन्त्रको दरिलो उदाहरण भएको उल्लेख गर्नुभयो ।
अमेरिकामा दुई सय वर्षमा सिनेटमा २० प्रतिशत मात्रै महिला रहेको तर नेपालमा समावेशिताको दृष्टान्त हेर्ने हो भने तल्लो तहदेखि नै महिलाको उल्लेख्य सहभागिता भएकाले नेपाल महिलाका लागि स्वर्ग भएको धारणा राख्नुभयो ।
“मुलुकका मुख्य सम्माननीय पद (राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश सभामुख) पहाडे र ब्राह्मण, क्षेत्रीबाहेकका छन्, यो सहभागिता र समावेशिताको उदाहरण हो, राज्य संरचना समावेशी अनुहारका छन्, केन्द्रीय शासन संरचनामा अझै समावेशी हुनु आवश्यक छ” -उहाँले भन्नुभयो ।
जनसहभागितामूलक समावेशिताका लागि स्थानीय निकायको निर्वाचन अपरिहार्य भएको पनि उहाँले बताउनुभयो । उहाँले सहभागितामूलक प्रजातन्त्रमा जनतालाई छलफल र बहसमा ल्याउन सामुदायिक एफएम रेडियोको महत्वपूर्ण भूमिका हुने भएकाले यसलाई अझ उद्देश्यमूलक र प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो ।












प्रतिक्रिया