काठमाडौं, २८ साउन । राप्रपा नेपालका अध्यक्ष कलम थापाले आफूहरूलाई चार दलका तर्फबाट च्यालेञ्ज आएको बताउनुभएको छ ।
संसदको आजको बैठकमा बोल्दै अध्यक्ष थापाले आफूहरूले अघि सारेका माग र आन्दोलनका विषयलाई लिएर अनावश्यक टिकाटिप्पणी गरेको भन्दै आपत्ति जनाउनुभयो ।
उहाँले दलका केही नेताहरू जस्तो विदेशी गुप्तचर संस्थासँग मिलेर आफूहरूले साँठगाँठ नगरेको भन्दै राप्रपा नेपालालाई अनावश्यक आरोप प्रत्यारोप नलागाउन आग्रह गर्नुभयो ।
‘हाम्रो जाने ठाउँ कहीँ छैन । संविधानसभामा विरोध प्रदर्शन गर्दा खिचडी देख्ने ?’, उहाँले भन्नुभयो, ‘२०४७ सालको संविधान उल्लंखन गरेर हतियार बोकेकोसँग गरिएको सम्झौता खिचडी हो । यसले मुलुकलाई कहाँ पुर्याउँछ पछि थाहा होला ।’
संसदमा धारणा राख्ने ठूला दलका शीर्ष नेताहरूले राप्रपा नेपालतर्फ संकेतसहित अभिव्यक्ति दिएपछि अध्यक्ष थापा बम्किनुभएको थियो ।
अध्यक्ष थापाले प्रमुख दलहरूको व्यवहारले असन्तुष्टिको अवस्था आएको भन्दै संविधानसभा भित्रै रहँदा पनि निषेधको राजनीति भएको बताउनुभयो । उहाँले प्रमुख चार दलहरूले संविधान निर्माणका क्रममा आफ्नै पार्टीभित्र पनि निषेध गरेको दाबी गर्नुभयो ।
अध्यक्ष थापाले २०१७ सालको भूतलाई दोषी देखाएर आफ्नो अर्कमान्यतालाई ढाकछोप नगर्न नेताहरूलाई आग्रह गर्नुभयो । ‘आठ वर्षदेखि संविधान बन्न नदिएको त्यही ०१७ सालले हो ? अहिले संविधान बन्न नदिएको त्यही ०१७ सालको भूतले हो ? आफ्नो अकर्मन्यता ढाकछोप गर्न ०१७ सालको भूत नदेख्नुस्,’ अध्यक्ष थापाले भन्नुभयो ।
केही दिनअघि एमाओवादीका नेता बाबुराम भट्टराईले ट्वीटमार्फत २०१७ सालको भूतले संविधान बन्न नदिएको, सलबलाई रहेको आरोप लगाउनुभएको थियो । संसदमा आज थापाले त्यसको जवाफ दिनुभएको हो ।
उहाँले संविधान बनाउन आफूहरूले अबरोध नगर्ने भन्दै फरकमतसहित जाने बताउनुभयो । उहाँले आफ्ना एजेन्डाका पक्षमा अन्तिम समयसम्म लडीरहने बताउनुभयो ।













प्रतिक्रिया