
काठमाडौं, २८ साउन । प्रमुख विपक्षी दल एकीकृत माओवादीका अध्यक्षसमेत रहनुभएका संसदीय दलका नेता पुष्पकमल दाहालले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रबाट कसैले रोक्न नसक्ने बताउनुभएको छ ।
संसदको आजको बैठकमा बोल्दै अध्यक्ष दाहालले मुलुकमा छिट्टै संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारी हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब कसैले रोकेर रोकिँदैन । संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारी हुन्छ ।’
एमाओवादी अध्यक्ष दाहालले संसदमा फेरि पनि कांग्रेसका तत्कालीन सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई सम्झिन भयो । उहाँले गिरिजाप्रसादले भन्ने गरेका कतिपय विषय र प्रसङ्ग कोट्याउँदै केही समय आफूहरू जंगलमा बाटो विराएको यात्रु जस्तै भएको बताउनुभयो ।
‘हामी केही समय जंगलमा हरायौँ । गन्तब्य विराएका यात्री जस्ता भयौँ । सोह्र बुँदेले फेरि बाटो भेटाएका छौँ’, अध्यक्ष दाहालले भन्नुभयो, ‘बाटो भेट्टिएको छ । समय अगाडि बढीसकेको छ ।’
सुर्खेत र कर्णाली अञ्चलमा उठेका आन्दोलनप्रति चिन्ता जनाउनुभएका उहाँले भन्नुभयो, ‘आन्दोलनका क्रममा मृत्यु भएकालाई क्षतिपूर्ति र घाइतेको उपचार सरकारले गर्नुपर्छ ।’
उहाँले सुर्खेतमा कति जना मारिएको भनेर सरकारसँग जानकारी माग गर्नुभयो । गृहमन्त्रीले संसदमा सुर्खेतमा दुई जनाको मात्रै मृत्यु भएको जानकारी दिएपछि अध्यक्ष दाहालले भन्नुभयो, ‘सुर्खेतमा कति मारिएका हुन् । गृहमन्त्रीले दुई जना मात्रै मारिए भन्ने, अर्थ मन्त्री तीन जना मारिए भन्नुले म भ्रममा परे ।’
समग्र परिवर्तनको पक्रियालाई निस्तेज पार्न खोजेको हो की भनेर अध्यक्ष दाहालले आशंका समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘उपलब्धीहरूलाई कतै लगेर तुहाउन हो की भनेर सचेत हुनुपर्छ ।’
राजनीतिक नेतृत्व सचेत नहुने हो भने ठूला दुर्घटना हुन सक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अझै पनि केही तत्वहरू षड्यन्त्रमा लागिरहेका छन् । यही देखियो । धर्मनिरपेक्षता नचाहने र चाहने । तथा संघीयता चाहने र नचाहने मिलेरसँगै नारालगाएको देखेकै छौं ।’
मधेश केन्द्रित दलका नेताहरूप्रति लक्षित गर्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘पूर्वका साथीहरू पश्चिमतर्फ किन जानु भयो ?’ माया लागेरै हो ।’
उहाँले भन्नुभयो, ‘पहिला पहाडसँग जोडिएर सिमाङ्कन भए मान्दैनौ भन्ने । पहाड नमिलाउँदा अहिले खोइ पहाड भन्ने । यस्तो कुराले आशंका जन्माइदिएको छ ।’ उहाँले अगाडि भन्नुभयो, ‘साथीहरूले सिमाङ्कन खोज्नु भो । सिमाङ्कन बनायौँ । तर साथीहरूले फेरि मान्नु भएन । यहाँ केही लुकेको छ ।’
संविधान भनेको शक्ति सन्तुलनको दस्तावेज रहेको बताउनुभएका अध्यक्ष दाहालले सबै आफ्ना कुरा राख्नका लागि सम्र्पूण रुपमा जित्नुपर्ने बताउनुभयो ।
अहिलेको संविधान सबैको सहमतिको दस्तावेज रहेको उल्लेख गर्नुभयो ।
अखण्डको आन्दोलनले थारुहरूलाई मर्का परेको दाहालको भनाइ थियो ।
उहाँले कैलालीको केही भागलाई राखेर भए पनि थरुवान बनाउन पनि नसकेकोमा आफूलाई चिन्ता लागेको बताउनुभयो ।












प्रतिक्रिया